अच्युत रेग्मी/रासस
काठमाडौं- नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० शय्याको अस्पताल सञ्चालनमा हुँदा कैदीबन्दीलाई राहत भएकाे छ।
विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो। सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो। कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो।
अस्पतालका शाखा अधिकृत सुनिता घिमिरेका अनुसार कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्न शय्या थप गरिएको हो। 'दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ', उनले भनिन्। ३० शय्याको अस्पतालमा विभिन्न रोगका ७ जना विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ।
केन्द्रीय कारागारमा हाल २ हजार ८ सय कैदीबन्दी छन्। केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ। तीनवटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५ सय रहेको छ। अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठ कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वाड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउँछन्।
१५ शय्याको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० शय्याको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको हो। उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन्।
अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरिएको छ। 'रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ', श्रेष्ठले भने।
कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ। कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ। अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवम् विभिन्न किसिमका सरुवा रोग देखापरेको छ। साँघुरो ठाँउ र धेरै कैदीबन्दी राख्दा उक्त रोग बढी देखिएको हो।
दैनिक ८० देखि १ सय बिरामीको उपचार गरिरहेको कारागार अस्पतालमा मङ्सिरमा ४ सय ७३ पुरुष र ७२ महिला कैदीबन्दीको उपचार गरिएको छ। आव २०७४/७५ मा ३२ हजार कैदीबन्दीको उपचार गरिएको थियो। केन्द्रीय कारागार अस्पतालका बिरामीबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको समेत उक्त अस्पतालले उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ।
अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले ११औँ तहको दरबन्दी र चिकित्सक माग गरेको छ। यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउनका लागि माग गरिएको अस्पतालले जनाएको छ। अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबीसै घन्टा सेवा सञ्चालन गर्दै आएको छ। रासस