बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने भएको छ। महामारीका रुपमा औलोको प्रकोप फैलिनसक्ने भएकाले नौ हजार ९०० झुल वितरण गर्न लागिएको हो।
मौसम परिवर्तनका कारण लामखुट्टेले टोक्नेक्रम बढिरहेको र गाउँमा औलोको संक्रमण देखिन थालेकाले पूर्वसावधानीका लागि झुल वितरण गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए।
किटनाशक 'एलएलआइएन' नामक झुल जिल्लाको बूढीनन्दा नगरपालिका–१ देखि ७ सम्म र हिमाली गाउँपालिकाको वडा नं ६ मा वितरण गर्न लागिएको हाे। उक्त नगरपालिकाको १ देखि ७ वडासम्मका लागि सात हजार ६५० र हिमाली गाउँपालिकाको वडा नं ६ मा दुई हजार २५० झुल वितरण गर्न लागिएको हो।
तीन वर्षसम्म लामखुट्टेको टोकाइबाट हुने संक्रमण कम गर्न झुलले मद्दत गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । किटनाशक 'एलएलआइएन' झुल नेपाल सरकारले लाइफ टाइम नेपालको प्राविधिक सहयोगमा वितरण गर्ने फिल्ड सुपर भाइजर चन्द्रमणि सुनारले जानकारी दिए। रासस