लमही- दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ।
१६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले ६ जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताए।
अस्पतालमा आफूसहित डा जनार्दन पन्थी, डा विनोद सिंह, डा मीनचन्द्र अधिकारी, डा पदमराज अधिकारी, डा प्रशङ्सा सिंह मात्रै कार्यरत रहेको उनको भनाइ छ। यसबाहेक १० विशेषज्ञको दरबन्दी खाली हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनले बताए। राष्ट्रियसभा सदस्य कोमल वलीले आइतबार उक्त अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका समस्या सुनाउँदै उनले यस्तो जानकारी दिएका हुन्।
मानसिक रोग, छाला, नाक कान, बेहोस बनाउने, बलरोग तथा हड्डीसम्बन्धी विशेषज्ञ मात्रै रहे पनि अन्य विशेषज्ञ चिकित्सकको अभाव रहेको उनको भनाइ थियो।
अस्पतालमा भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ।
हाल १८ नर्सको दरबन्दी रहेपनि २४ नर्स कार्यरत रहेकाे उनले जानकारी दिए। भने, 'तर त्यतिले मात्रै पनि पुग्दैन।' उनका अनुसार अहिले दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन्।
त्यस अवसरमा राष्ट्रियसभा सदस्य वलीले दाङसहित, सल्यान, रोल्पा, रुकुम, बाँके, बर्दियालगायतबाट बिरामी आउने भएकाले यस अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक उपलब्ध गराउन मन्त्रालयमा प्रस्ताव राख्ने र राष्ट्रियसभामा पनि आवाज उठाउने प्रतिबद्धता जनाए। रासस