काठमाडौं- नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ।
कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए।
'रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवम् विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो', उनले भने। कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा श्रेष्ठले बताए।
विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० बाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आइएको छ। केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल दुई हजार ८ सय कैदीबन्दी छन्।
यस्तै, चालू आवमा मात्र झन्डै ५ हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गराएका कारागार अस्पतालले जनाएको छ। आव २०७४/०७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गरेका थिए।
२४सैँ घन्टा कैदीबन्दीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक डिल्लीबजार कारागार र नख्खु कारागारका कैदीबन्दीको समेत उपचार गर्दै आइरहेको छ। रासस