धनगढी- सुदूरपश्चिम प्रदेशका विद्यालयमा आयुर्वेद र योग शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयको आयोजनामा कार्यक्रम सञ्चालनका लागि प्याकेज निर्माण तथा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ।
दुई दिने कार्यक्रममा ४० वटै आयुर्वेद अस्पताल र केन्द्रका प्रमुखहरुको सहभागिता रहेको सामाजिक विकास मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डाक्टर चेतराज जोशीले जानकारी दिए।
प्याकेज कार्यक्रम निर्माणका लागि पतंजली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्रले प्रशिक्षण दिएका थिए। प्याकेज कार्यक्रम सञ्चालनका लागि निर्देशनालयका क्षेत्रीय निर्देशक डाक्टर गुणराज अवस्थी, मन्त्रालयका उपसचिव झंकर विष्ट, किसान राज चिल्वाल, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की, कविराज दीक्षा भण्डारी, निर्देशनालयका भोजराज जोशीसहित आयुर्वेद अस्पतालका प्रमुखहरुको एक समिति निर्माण गरिएको डाक्टर जोशीले बताए।
डाक्टर जोशीले टोलीले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई आयुर्वेदको परिचय तथा आयुर्वेद स्वास्थ्य संस्थाबाट संचालन हुने सेवा, आयुर्वेदका सकारात्मक पक्ष, जडिवुटीको महत्व र सुदुरपश्चिम प्रदेशमा यसको खेतीको सम्भावना र मुख्य जडिबुटी, योगको परिचय तथा महत्व, नसर्ने रोग व्यवस्थापन र जिवनशैलिगत रोग नियन्त्रणमा आयुर्वेद र योगको भुमिका, स्मरण शक्ति बढाउने, आत्मविश्वास र व्यक्तित्व विकासका लागि आसन र प्राणायाम, दिनचर्या, मुख्य १० जडिबुटिहरु र आठ प्राणायामको अभ्यास लगायतका बारेमा जानकारी दिने बताए।