कैलाली– धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले आयुर्वेद सेवालाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले आयोजना गरेको स्थानीय तह तथा सरोकारवालासँग आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्धन जीवनशैली सम्बन्धी दुई दिने छलफल कार्यक्रमको समापनमा उनीहरुले सो प्रतिवद्धता जाहेर गरेका हुन्।
धनगढी उपमहानगरपालिका– ५ का वडा अध्यक्ष हिरासिंह पातलीले हरेक घरमा योग गर्न र आयुर्वेदिक औषधिको प्रयोग गर्न सल्लाह दिने बताए।
आयुर्वेद सेवाको प्रवर्धनका लागि स्थानीय तहले गर्नुपर्ने भूमिकाका बारेमा आयोजना गरिएको कार्यक्रममा धनगढीका सबै वडा अध्यक्षहरुले नसर्ने रोगबाट बच्न स्वस्थकर खानाको प्रयोग गर्न सुझाव दिने, वडामा योग शिविर सञ्चालन गर्ने प्रतिवद्धता जनाएको सामाजिक विकास मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक शाखा प्रमुख डाक्टर चेतराज जोशीले जानकारी दिए।
उनका अनुसार स्थानीय तहले आयुर्वेदको प्रवर्धन गर्न बजेट विनियोजन गर्ने पनि प्रतिवद्धता जाहेर भएको छ।
छलफलमा स्थानीय तहका जनप्रतिनिधिलाई आयुर्वेदको परिचय तथा आयुर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने सेवा, आयुर्वेदका सकारात्मक पक्ष, जडिबुटीको महत्व र सुदूरपश्चिम प्रदेशमा यसको खेतीको सम्भावना र मुख्य जडिबुटी, योगको परिचय तथा महत्व, नसर्ने रोग व्यवस्थापन र जिवनशैलिगत रोग नियन्त्रणमा आयुर्वेद र योगको भूमिका, स्मरण शक्ति बढाउने, आत्मविश्वास र व्यक्तित्व विकासका लागि आसन र प्राणायाम, दिनचर्या, मुख्य १० जडिबुटीहरु र आठ प्राणायामको अभ्यास लगायतका बारेमा जानकारी दिइएको थियो।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता रहेको छ।