काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले डा गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गरी उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। ट्रान्सपरेन्सीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनसन बसिरहेका डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको हो।
ट्रान्स्परेन्सी नेपालले डा केसीसँग गरेको सम्झौताप्रति प्रधमानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको अभिव्यक्ति अत्यन्तै दुःखद रहेको पनि विज्ञप्तिामा जनाएको छ।
‘सार्वजनिक हितका लागि स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षालाई थप गुणस्तरीय बनाउनुपर्ने मागका सम्बन्धमा सत्याग्रही र संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीका बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु र सम्झौतालाई तत्कालिन परिस्थितीको उपज थियो भनी सम्झौताप्रति उपेक्षाभाव देखिने खालको अभिव्यक्ति प्रधानमन्त्री ज्युबाट आउनु अत्यन्त दुस्खद पक्ष हो’ विज्ञप्तिमा भनिएको छ।
सत्याग्रही र संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीका बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु दुखद् भएको ट्रान्सपरेन्सीले जनाएको छ।
चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न र लोकतान्त्रिक सरकारका प्रमुखले गरेका तथा भविस्यमा गरिने सम्झौताप्रति जनताको विश्वसनीयता कायम राखिरहन डा केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको ठहर छ।