काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ।
कर्मचारीहरु आन्दाेलनमा उत्रिएका कारण प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थियो। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा राज्यमन्त्री डा सुरेन्द्र यादवलाई दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले आइतबार सो प्रतिष्ठानको स्थितिबारे ध्यानाकर्षण गराएपछि मन्त्रालयले सो जानकारी दिएको हो।
उपप्रधानमन्त्री यादवले प्रतिष्ठानमा देखिएको समस्या छिटो समाधान गर्न आफूले पहल गर्ने जानकारी दिएकाे भेटमा सहभागी सांसद सुजिता शाक्यले बताइन्। भेटमा सांसद कोमल ओली, रेखा शर्मा, शान्ता चौधरी, गङ्गा चौधरीलगायत सहभागी थिए। रासस