राजविराज, सप्तरी- राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा सुरु हुन लागेको बृहत् स्वास्थ्य शिविर सफल पार्न मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरेको रक्तदान कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारण गरी कुल ४५ जनाले रक्तदान गरेका थिए। शिविर सञ्चालनका क्रममा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सञ्चालन गर्न लागेको साताव्यापी बृहत् स्वास्थ्य शिविर बुधबार (फागुन १)देखि सुरु हुँदैछ। शिविर ७ गतेसम्म सञ्चालन हुनेछ।
'शिविरका लागि सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको मैदानमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ,' सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले भने, 'बिरामीको चाप बढ्दै गए थप ३ दिनसम्म शिविर सञ्चालन गर्ने तयारी अस्पतालको छ।'
सप्तरीलगायत प्रदेश २ का सिरहा तथा प्रदेश १ का सुनसरी र उदयपुरबासीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको शिविरमा पित्त तथा मृगौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक/कान/घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।
शिविरमा साना-ठुला गरी २ सयभन्दा बढी शल्यक्रिया गरिने र अन्य बिरामीलाई स्वास्थ्य उपचार, औषधि वितरण तथा परामर्श प्रदान गरिने मेसु दासले उल्लेख गरे।