भरतपुर- गैँडाकोट नगरपालिकाले ६ महिनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ। नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु ३ हजारका दरले भत्ता प्रदान गरेको हो।
‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम अन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु ३ हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए।
नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताए। नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन्। रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी रहेकाे छ।
भरतपुरका सुविधासम्पन्न अस्पताल नजिकै भएका कारण अधिकांश महिला सुत्केरीका लागि भरतपुर जाने गरेका छन् । तर नगरपालिकाको सुत्केरी भत्ता कार्यक्रमबाट निम्नवर्गीय र ग्रामीण इलाकाका नागरिक लाभान्वित भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बताए। कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्य जाँच गराउने बढेको उनकाे भनाइ छ।
यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुगेको नगरप्रमुख पौडेलले बताए। रासस