काठमाडौं- सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी नियुक्तीमा ढिलाई गरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्।
न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा डा डिएन शाहलाई नियुक्त गरे पनि उनको नियुक्ती भने अझै गोप्य नै राखिएको छ। उपकुलपति सहित रजिष्ट्रार, रेक्टार, डिन, वीर र ट्रमा सेन्टरको निर्देशक नियुक्तीका विषयमा कुरा नमिलेपछि उपकुलपतिले नियुक्ती भएर पनि पत्र लिन पाएका छैनन् भने अन्य पदाधिकारीको नियुक्तीमा अन्यौल भएको छ।
नेकपा र सत्ता साझेदार दल संघीय समाजवादी फोरमबीच पदाधिकारी भागबन्डामा कुरा नमिल्दा नियुक्तीमा ढिलाई भएको हो।
उपकुलपति सहित अन्य पादधिकारीको नियुक्ती टुंगो नलाग्दा न्याम्स सहित वीर र ट्रमा सेन्टरको कामकारवाही प्रभावित भएको भन्दै प्रतिष्ठान कर्मचारी युनियनले आजदेखि एक घण्टा धर्नाको कार्यक्रम सुरु गरेका हुन्।
न्याम्समा १९० दिनदेखि पदाधिकारीविहीन भएको भन्दै छिट्टै पदाधिकारी नियुक्त गर्न माग राख्दै उनीहरुले धर्ना दिन सुरु गरेको युनियनका सचिव दिपक मुडभरीले जानकारी दिए।