काठमाडौं- नेपाल मेडिसिटी अस्पतालले टर्कीको इस्तानबुलस्थित खयी मेडिकलसँगको सहकार्यमा क्यान्सर उपचार केन्द्र स्थापना गर्ने भएको छ। क्यान्सर उपचार केन्द्र स्थापनाका लागि अस्पताल र खयी मेडिकलका प्रतिनिधीबीच सम्झौता भएको छ।
मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्की व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार टर्कीको खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उपकरणहरु भित्र्याउँदै क्यान्सरका सम्पूर्ण उपचार नेपालमै सम्भव गर्ने वातावरणको विकास गर्ने उल्लेख छ।
अस्पतालका अध्यक्ष डा महतोले यस किसिमको सम्झौताले स्वदेशमै नेपालीहरुले क्यान्सर रोगको उच्चस्तरिय उपचार पाउने र विदेशसम्म पुग्नु नपर्ने बताए।
नेपाल टर्की व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झौताको प्राथमिक चरणमा अधिक जनसंख्यामा देखिएको क्यान्सर रोगको निराकरणमा टेवा पुर्याउन लागी पर्ने बताए।
बुधबार गरिएको दुई पक्षबीचको सम्झौताको केहि समयमानै यस सम्बन्धि काम सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले बताए।