काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीयता कार्यान्वयनका क्रममा नयाँ संगठन संरचनाको मस्यौदा तयार पारेको छ। मन्त्रालयले यसअघि बनाएको संरचनामा समस्या देखिएपछि नयाँ संरचनाको खाका तयार पारेको हो।
अहिले बनाइएको नयाँ संरचनामा स्वास्थ्य सेवा विभाग र माताहतमा रहेका महाशाखा तथा केन्द्रहरु खारेज गर्ने प्रस्ताव छ। खारेज भएका विभाग, महाशाखा र केन्द्रहरु मिलाएर रोग नियन्त्रण केन्द्र भनेर छुट्टै संरचनाको प्रस्ताव गरिएको छ।
नयाँ संरचनाको मस्यौदामा यसअघि बाल स्वास्थ्य र परिवार स्वास्थ्यलाई मर्ज गरेर बनाइएको परिवार कल्यण महाशाखालाई मन्त्रालयमा नै राखिएको छ। मन्त्रालयमा रहने जनसंख्या, वातावरण तथा परिवार कल्याण विभाग अन्तर्गत उक्त महाशाखालाई राख्न प्रस्ताव गरिएको छ।
विगतमा मातृ स्वास्थ्यसँग सम्बन्धित काम परिवार स्वास्थ्य र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषणको काम बाल स्वास्थ्य महाशाखाले गर्दै आएको थियो। आमा र बच्चाको स्वास्थ्यका कार्यक्रमलाई छट्टाछुट्टै राख्दा समस्या आएको भन्दै यी दुई महाशाखालाई एकै स्थानमा राख्नुपर्ने विषयमा पहिला पनि बहस हुँदै आएको थियो।
सोही अनुसार यसअघिको संरचनामा दुईवटै महाशाखालाई मर्ज गरेर परिवार कल्याण महाशाखा बनाइएको थियो। उक्त महाशाखा स्वास्थ्य सेवा विभाग अन्तर्गत छ।
तर, अहिले बनाइएको नयाँ संरचनामा स्वास्थ्य विभाग नै खारेज हुने भएपछि उक्त महाशाखालाई मन्त्रालयमा ल्याउन खोजिएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेलले जानकारी दिए।
उनका अनुसार नयाँ प्रस्तावमा उक्त महाशाखामा ११ औं तहका प्रमुख जनस्वास्थ्य प्रशासक नै महाशाखा प्रमुखका रुपमा रहने छन्। उक्त महाशाखा अन्तर्गत ३ वटा शाखा रहनेछ।
यी हुन् ३ शाखा
महिला तथा वालबालिका पोषण शाखा
मातृ तथा नवशिशु स्वास्थ्य शाखा
परिवार योजना तथा किशोरकिशोरी प्रजनन् स्वास्थ्य शाखा
यो पनि पढौं :