गलकोट- धवलागिरि अञ्चल अस्पतालमा सेवारत चिकित्सकहरु आवास अभावका कारण होटलमा बस्नुपर्ने बाध्यताका विषयमा समाचार प्रकाशित भएलगत्तै गण्डकी प्रदेश सरकारले चिकित्सक आवास निर्माणमा गरिदिने भएको छ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चिकित्सक होटलमा बसेर सेवा प्रदान गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ११ कोठे चिकित्सक आवास निर्माणका लागि चैत १५ गते निर्णय गरेको सामाजिक विकासमन्त्री नरदेवी पुनले बताइन्।
समाचार प्रकशनलगत्तै मन्त्री पुन अञ्चल अस्पतालमा छड्के अनुगमनसमेत गर्न गएको अञ्चल अस्पताल स्रोतले जनाएको छ। अनुगमनपछि चिकित्सकले होटलमा बसेर अस्पतालको सेवा प्रदान गर्नु निकै दुःखद् भएको प्रतिक्रिया दिँदै आवास निर्माणका लागि सहयोग गर्ने बताएकी थिइन्। लामो समयदेखि चिकित्सक अभाव खड्किरहने धौवलागिरि अञ्चल अस्पताल बागलुङमा अहिले २२ चिकित्सक सेवारत छन्।
अञ्चल अस्पतालको इतिहासमै सबैभन्दा धेरै चिकित्सक सेवारत हुँदा अस्पतालमा चिकित्सक आवासको व्यवस्थापन गर्न भने अस्पताललाई धौधौ परेको छ। अस्पतालमा सेवारत सबै चिकित्सकलाई आवासको व्यवस्था गर्न अस्पतालमा हाल तीन चिकित्सक आवास भवन रहेका छन्। हालै मात्र निर्माण सम्पन्न भएको चिकित्सक आवास हस्तान्तरण नुहँदा चिकित्सकहरुलाई एक महीना होटलमा राखिएको थियो। हाल होटलमा बसेका चिकित्सकहरु सुविधासम्पन्न आवासमा बस्न थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सागरकुमार राजभण्डारीले बताए।
“अस्पतालमा दरबन्दीअनुसारका सबै चिकित्सक र करारका चिकित्सक हुँदा चिकित्सक आवासको अभाव हुन्छ”, राजभण्डारीले भने, “व्यवस्थापन समितिसहित सबैको पहलमा प्रदेश सरकारले व्यापारिक सटरसहितको दुईतले आवास भवनमा एक तला थप गर्नका लागि रु एक करोड विनियोजन गरेको छ।” गत चैत १५ गते चिकित्सक आवास निर्माण गर्न रु एक करोडको बजेट अख्तियारी प्राप्त भई चैत २६ गते नै ठेक्का प्रक्रियामा गएको अस्पतालका लेखा अधिकृत झलकप्रसाद आचार्यले बताए।
साविक धवलागिरि अञ्चलकै एक मात्र सुविधासम्पन्न अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सक आएपछि बिरामीलाई राहत भएको छ । लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभाव खड्किरहने अस्पतालमा पछिल्लो समय सो सेवा उपलब्ध भएपछि अस्पतालको मुहारै परिवर्तन भएको छ । हाल अस्पतालमा आधा दर्जन बढी विशेषज्ञ चिकित्सकसहित मेडिकल चिकित्सकहरुले सेवा प्रदान गर्न थालेपछि अस्पतालमा सेवा लिन आउने बिरामीसमेत बढेका छन् ।
अस्पतालको सुविधासम्पन्न आवास निर्माण भइसकेपछि आगामी दिनमा चिकित्सक आवासको कुनै समस्या नहुने अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले बताए। विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतहरुले सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए। अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। रासस