भैरहवा- महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्स शिक्षण अस्पतालबीच सहकार्यका लागि 'मेमोरेन्डम अफ अनडरस्टयाण्डिङ' (एमओयू) सम्झौता भएकाे छ।
मंगलबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पिएस र बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट दिइनेछ। जसअनुसार जनरल बेडमा २० प्रतिशत, सामान्य ल्याब परीक्षण, जनरल सर्जरी, डेन्टल (जनरल) र रेडियोलोजी (एक्स–रे) मा १० प्रतिशत छुट प्रदान गरिनेछ।
त्यस्तै, दन्तरोग सम्बन्धी सामान्य परीक्षण (दाँतमा किरा लाग्ने समस्या)को उपचार निःशुल्क गरिने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्ज भैरहवाका वित्त नियन्त्रक सुरज पौडेलले जानकारी दिए।
मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पिएसले अस्पतालले प्रत्येक वर्ष सेवा थप्दै गइरहेको बताए। उनले यस क्षेत्रका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालन गरिँदै आएको र आगामी दिनहरुमा पनि अन्य संघ–संस्थासंग सहकार्य गर्ने बताए।
महालक्ष्मी विकास बैंक भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासी गरी १२ वटा शाखामार्फत सेवा दिइरहेकोे जानकारी गराए। बैंकका देशैभरी ९३ वटा शाखा छन्।