हुम्ला- स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका सिमिकोट गाँउपालिकाले भिडियो एक्सरे सहितको चिकित्सकको टोली गाँउ पठाएको छ।
हुम्ला जिल्ला अस्पतालका डा टसी लामाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाँउ पुगेको हो । उक्त टोलीले गाँउमा गएर १६ जना गर्भवती महिलाको गर्भपरीक्षण गरेको छ।
आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । यद्धपी कतिपय महिलाहरु अहिलेपनि गर्भ परीक्षणको पहुँचमा छैनन्।
डा लामाले पहुँचविहीन गर्भवतीहरुको लागि आफूहरु गाँउ पुगेको बताए।
गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको लामाले जानकारी दिए।
सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले जानकारी दिइन।
पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेको डाक्टर लामाले बताइन । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको उनको भनाइ थियो।
हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत रु आठ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्च बापत थप रु तीन हजार पाउने गरेको डा लामाले जानकारी दिए।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क सुत्केरी सेवा प्रदान गरिँदै आएको पनि उहाँले बताए। यसबाट महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको छ। रासस