काठमाडौं - साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले ह्यान्ड ट्रमा म्यानेजमेन्टका विषयमा एक दिने कार्यशाला गरेको छ। अस्पतालले अस्ट्रेलियाको असनेप फाउण्डेशन प्राविधिक सहयोगमा कार्यशालाको आयोजना गरेको हो।
कार्यशालामा राष्ट्रिय ट्रमा सेन्टर, बि एण्ड बि हस्पिटल, कीर्तिपुर हस्पिटल, नेपाल अर्थोपेडिक हस्पिटल, स्पाइनल इन्जुरी रिह्याबिलेसन सेन्टर, उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल लगायतका ११ वटा अस्पतालका फिजियोथेरापिष्ट एवं असिस्टेन्ट फिजियोथेरापिष्ट गरी १६ जना सहभागि थिए। उनीहरुलाई ह्यान्ड ट्रमा म्यानेजमेन्टको बारेमा तालिम दिइएको थियो। त्यसैगरी सुष्मा कोइराला मेमोरियल अस्पतालका ६ जना डाक्टरहरुलाई पेन म्यानेजमेन्ट को बारेमा पनि तालिम दिइएको छ।
उक्त कार्यशाला गोष्ठीमा असनेप फाउण्डेशनका तर्फबाट ह्यान्ड ट्रमा म्यानेजमेन्टका लागि अष्ट्रेलियन ट्रेनर मरिन ग्राहम र नतालिया अल्फारोले प्रशिक्षण दिएका थिए भने पेन म्यानेजमेन्टका लागि पेन म्यानेजमेन्ट स्पेसलिष्ट डा. निनादिनी श्रेष्ठ र डा. विजेन शाक्य रहेका थिए।
कार्यशालामा अस्पतालका मेडिकल डाइरेक्टर डा जसवन शाक्य, असनेप फाउण्डेशनका कार्यकारी निर्देशक लुपी किडलको आतिथ्यमा शुभारम्भ भएको थियो। अस्पतालका वरिष्ठ प्रशासक हेम बिडारीले यस्तो कार्यशाला गोष्ठी आगामी दिनमा पनि गर्ने जानकारी दिए।