काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्रका कर्मचारीहरुको सोमबारबाट सुरु भएको आन्दोलन आज बिहीबार पनि जारी छ ।
आफ्ना माग पूरा नगरेको भन्दै युनियनले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको थियो । कर्मचारीले प्रत्यारोपण केन्द्र प्रशासनसँग पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने जस्ता माग राखेका छन्।
यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कर्मचारीहरुलाई नै सहभागी हुने मौका दिनुपर्ने, सरकारी अस्पतालमा पाइने सबै सुविधा उपलब्ध गराइनुपर्ने, कर्मचारीको मासिक तलब समयमै दिनुपर्ने लगायतका माग कर्मचारी युनियनले राख्दै आएको छ।
केन्द्रको वैशाख ५ गते बसेको बैठकले कुनै पनि माग पूरा नगरेकोले आफूहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले जनाएको छ।
नर्सहरु कालोपट्टी लगाएर आन्दोलनमा उत्रिएका थिए। अहिले माग पूरा गर्न हामी सबै मिलेर मानव अंङ्ग प्रत्यारोपण केन्द्र बचाऔं, खुला लोकसेवा बहिष्कार गर, आन्तरिक लोकसेवा खुलाई सम्पूर्ण कर्माचारीलाई स्थायीकरण गर जस्ता नारा लेखिएका ब्यानर बोकेर कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
माग पूरा नभए आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी युनियनले दिएको छ।