बाग्लुङ - जैमिनी नगरपालिकामा क्षयरोगका बिरामी दोब्बरले बढ्दै गएका छन्। स्वास्थ्य कार्यालय बागलुङका अनुसार नगरपालिका भित्र गत आर्थिक वर्षमा ८ जना बिरामी रहेकोमा यस वर्षमात्र १५ जना बिरामी फेला परेका छन्।
स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरेले नगरभित्र सबैभन्दा बढी जैदि छिस्ती क्षेत्रमा बिरामी रहेको बताए। उनका अनुसार नगरपालिकामा फोक्सोको क्षयरोग भएका १० पुरुष र १ महिला छन्। त्यस्तै फोक्सो बाहेक अन्य भागमा क्षयरोग भएका बिरामी ४ जना रहेको घिमिरेले जानकारी दिए।
जैमिनी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुसँग भएको क्षयरोग सम्बन्धी विश्लेषणात्मक गोष्ठी मार्फत उक्त तथ्याङक सार्वजनिक गरिएको हो।
गोष्ठीमा नगरपालिकाका नगर उपप्रमुख लिला रानाले जैमिनी नगरभित्र क्षयरोग न्युनिकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। उनले क्षयरोग लागिसकेको व्यक्तिलाई निरन्तर निगरानीमा राखी औषधि खान सुरुगरेपछि त्यसको अवस्था कस्तो छ भनेर समयसमयमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्मा स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरे लगायतले क्षयरोग नियन्त्रणका लागि नगरपालिकाले आवश्यक पहल थाल्नुपर्ने बताएका थिए।