बाग्लुङ – जैमिनी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाका लागि दाँत र नाक, कान घाँटीका बिरामीलाई उपचार गर्ने उपकरण हस्तान्तरण गरिएको छ।
नगरपालिकाको सहयोगमा करिब १ लाख २० हजार बराबरको उपकरण हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द प्रसाद शर्माले बताए। डेन्टर सेट र इएनटी सेटको साथमा बिपीसेट, थर्मोमिटर र अन्य आवश्यक सामाग्री पनि हस्तान्तरण गरिएको छ।
नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थालाई झण्डै १३ हजार बराबरको उपकरणहरु प्रदान गरिएको हो। उपकरण हस्तान्तण गर्दै नगरपालिकाका उपप्रमुख लिला रानाले जैमिनी नगरपालिकालाई स्वास्थ्य नगर बनाउनकालागि आवश्यक उपकरण खरिद प्रक्रियामा सहयोग गर्ने बताए।
स्वास्थ्य संस्थामा उपकरण पुगेपछि सामान्य दाँत र नाक, कान, घाँटीका बिरामीको स्वास्थ्य जाँचमा सहज पुग्ने दमेक स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट हेमकुमार आचार्य क्षेत्रीले बताए। स्वास्थ्य संस्थामा सामान्य उपकरण समेत नहुँदा उपचारका लागि पहिले निकै कठिन भएको थियो।