हुम्ला- चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली गए राति २ बजेदेखि उच्च रक्तस्रावले थला परेकी छिन्। दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर हुनुभएका ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेको हुनाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए।
तीन महिना पहिले गर्भ खसेपछि औषधि गरेर आएकी नेपाली रातिदेखि बिरामी भएर स्वास्थ्यचौकीमा छट्पटाइरहेको मेल्छाम स्वास्थ्यचौकीकी अनमी बेलसरा बुढाले जानकारी दिइन्। अनमी नेपाली रातिदेखि छट्पटाइरहेको खबर पाउनासाथ उद्धारका लागि पहल गरिएको ढकालले जानकारी दिइन्। नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट आउने तयारी भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्। बिरामी नेपालीलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिने जनाइएको छ। रासस