काठमाडौं– काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवा तथा व्यवस्थापन (प्रि हस्पिटल केयर) का लागि सहकार्य भएको छ। महानगरले नेपाल एम्बुलेन्स सेवासँग ५ वर्षका लागि सम्झौता गरेको हो।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्य आइतबारले सम्झैतापत्रमा हस्ताक्षर गरेका छन्।
उद्योगी, व्यवसायी, गैरसरकारी संस्था लगायतको सहयोगमा सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवामा महानगरले सञ्चालन खर्च प्रदान गर्ने भएको छ। सम्झैता बमोजिम महानगरले एम्बुलेन्स सेवालाई मासिक १२ लाख रकम प्रदान गर्ने भएको छ।
साथै ७० वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिका लागि निशुल्क सेवा प्रदान गरिने भएको छ। विपन्न गरिब र बेसहारालाई वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा प्रदान गरिने छ।
नेपाल एम्बुलेन्स सेवाको हाल १० वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ। काठमाडौं उपत्यका लगायत चितवन, पोखरा र बुटवलमा पनि यो सेवा २४सै घण्टा फोन नं. १०२ मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ।
नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले भने, “विगत ९ वर्षमा आजसम्म ३६ हजार ५ सय जना व्यक्तिलाई हामीले सेवा पुर्याइसकेका छौं र ४७ शिशुको जन्म पनि एम्बुलेन्स भित्र भएको छ। यो सहकार्यले हामीलाई नेपालभरि आफ्नो सेवा विस्तार गर्न र अझ स्तरीय सेवा जनतासम्म पुर्याउन थप हौसला मिलेको छ।”
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले यो सम्झौता महानगरबासीका लागि ऐतिहासिक भएको बताउँदै हरेक नागरिकको जीवनसँग जोडिएकाले यस सेवालाई स्तरीय बनानुपर्नेमा जोड दिए।