कैलाली– सुदूरपश्चिम प्रदेशमा औषधि व्यवस्था विभागको शाखा स्थापना गर्नुपर्ने सामाजिक विकास मन्त्रालयले माग गरेको छ।
देश संघीय संरचनामा गएसँगै हरेक प्रदेशमा औषधि व्यवस्था विभागको शाखा स्थापना गर्नुपर्ने माग मन्त्रालयले राख्दै आएको थियो। अहिले साविकको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रलाई हेर्नेगरी विभागको शाखा कार्यालय नेपालगञ्जमा रहेको छ।
बुधबार धनगढीमा विभागले आयोजना गरेको प्रतिरोधात्मक औषधि समुचित प्रयोगबारे प्रदेश तथा स्थानीय तहका सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने, ‘विभागले यस प्रदेशमा आफ्नो शाखा स्थापना गर्नुपर्यो। त्यसका लागि मन्त्रालय हरेक पक्षबाट सहयोग गर्न तयार छ।’
मन्त्री सुवेदीले अहिले साविकका दुई क्षेत्र (सुदूर तथा मध्यपश्चिम) हेर्नेगरी शाखा हु“दा विभागले दुर्गम क्षेत्रमा रहेका फार्मेसीको अनुगमन गर्न नसकेको बताए।
औषधि व्यवस्था विभागको नेपालगञ्ज शाखाले सहरी क्षेत्रमा रहेका फार्मेसीको अनुगमन तथा नियन्त्रणका लागि काम गरेको भए पनि दुर्गम क्षेत्रमा हालसम्म पुग्न सकेको छैन।
मन्त्री सुवेदीले भने, ‘दुर्गम क्षेत्रका मानिसलाई गुणस्तरीय र औषधि समुचित प्रयोगका लागि प्रदेशमा विभागको शाखा अनिवार्य छ।’
प्रदेश सचिव गोगनबहादुर हमालले संघीय सरकारसँग प्रदेश तथा स्थानीय तहलाई चाँडो भन्दा चाडो काम गर्ने वातावरण बनाउन आग्रह गरे।
नेपाल औषधि व्यवसायी संघ सेती अञ्चल अध्यक्ष गयाप्रसाद कुश्मीले प्रदेशमा विभागको शाखा नहुँदा अनाधकृत रुपमा प्रहरी प्रशासनले फार्मेसीहरुलाई दुःख दिने गरेको गुनासो गरे।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले संघीयतामा विभागको संरचना, संघ, प्रदेश तथा स्थानीय तहमा प्रदान गरिएको अधिकार लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए भने वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले औषधिको समुचित प्रयोग, चुनौती, नेपालमा एन्टिबायोटिकको प्रयोग, असर लगायतका बारेमा प्रस्तुतीकरण गरेका थिए।