पोखरा– स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक अस्पतालका लागि बिमा व्यवस्थापन सूचना प्रणाली सम्बन्धि तीन दिने तालिम दिएको छ।
पोखरामा सम्पन्न उक्त तालिममा स्वस्थ नेपाल निर्माणका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन स्थानीय तह र सरोकारवालाहरुले सहयोग गर्नु पर्नेमा जोड दिइएकाे थियाे।
साे अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सबैले स्वास्थ्य बिमा गरी समयमै सुरक्षित हुनुपर्ने र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह र जनताका बीचमा सहकार्य गरी आगाडी बढाउनुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डले स्याङ्ग्जा र कास्कीका ६ वटा सेवा प्रदायकलाई ल्यापटप हस्तान्तरण गरेकाे छ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले आगामी आर्थिक वर्षसम्म देशका सबै जिल्लामा बिमा कार्यक्रम सञ्चालन गरिने आश्वासन दिए।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्काले स्वास्थ्य बिमालाई सफल बनाउन व्यापक प्रचारप्रसारकाे आवश्यकता रहेकाे औंल्याए।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले टोलटोल र वडा तहमा नागरिकको स्वास्थ्यमा पहुँच ल्याउनका लागि सबै नागरिक स्वास्थ्य बिमामा आवद्ध हुनु पर्ने धारणा राखे।
उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले सेवा प्रदायकलाई स्वास्थ्य बिमा कार्यक्रमको सुविधा प्याकेज पुस्तिका हस्तान्तरण गर्दै आगामी ५ वर्ष भित्र गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई सबैले मिलेर सफल बनाउनुपर्ने बताए।
स्वास्थ्य बिमा कार्यक्रमसँग कास्कीको शहरी स्वास्थ्य प्रवर्दन केन्द्र,नयाँबजार,स्याङ्ग्जा जिल्ला अन्तर्गतका जिल्ला अस्पताल स्याङ्ग्जा , चापाकोट अस्पताल, मालूँगा प्राथमिक स्वास्थ्य केन्द्र, गह्रौ घ्यांङ्गलिंग प्रा. स्वा. के., पंचमुल प्र.स्वा.केन्द्र लगायतका सेवा प्रदायकले सम्झौता गरि स्वास्थ्य बिमा कार्य क्रममा आवद्ध भएका छन् l