काठमाडौं- दुई दिने तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। मिडवाइफ्री ससोसाइटी अफ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो।
‘मिडवाइफ : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका पैरवीकर्ता’भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मिडवाइफ्री दिवस पारेर सम्मेलनको आयोजना गरिएको हो।
राष्ट्रिय तथा अन्तराष्ट्रिय नर्स मिडवाइफ, प्रसूति विशेषज्ञ चिकित्सक, विद्यार्थी मिडवाइफ, महिला अधिकारकर्मी, नीति निर्माता, सुरक्षित मातृत्व सेवासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यौन, प्रजनन स्वास्थ्य, मातृशिशु तथा किशोरीको स्वास्थ्य क्षेत्रमा ज्ञान, सिप तथा अनुसन्धानत्मक प्रस्तुति आदनप्रदान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मिडवाइफ्री सेवा सुदृढीकरण गर्ने सम्मेलनको उद्देश्य रहेको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले आमा तथा शिशुको मृत्युदरमा कमी ल्याउन हरेक स्वास्थ्य संस्थामा मिडवाइफ्री आवश्यक भएको बताए। ‘स्वास्थ्यलाई मौलीक हक भनेर संविधानमा मात्र लेखेर हुँदैन कार्यन्ययन गर्ने हो भने यसक्षेत्रमा लगानी बढाउँनु पर्छ,' राज्यमन्त्री यादवले भने।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भन्डेलरले मिडवाइफहरू प्राथमिक स्वास्थ्य केन्द्रका 'हिरो' भएकाले मातृ स्वास्थ्य सुधार गर्नु र सामाजिक मनोविज्ञान परिवर्तन गर्नसमेत ठुलो भुमिका हुने बताए।
सम्मेलन आइतबारसम्म चल्नेछ।