कञ्चनपुर– कैलालीको जानकी गाउँपालिकाले निःशुल्क पाठेघर जाँच शिविर गरेको सञ्चालन गरेको छ।
गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा तीन सय ४२ जनाले सेवा लिएको जनाइएको छ।
सेवा लिएकामध्ये तीन जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँच जनाको पाठेघरमा रिङ राख्नुपर्ने, पाँच जनाको बाझोपन, २३ अविवाहित महिलामा महिनावारीको गडबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको मुनुवा स्वास्थ्य चौकीका प्रमुख वीर्ख विष्टले जानकारी दिए।
उनको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको विष्टले बताए।
शिविरमा सेवा लिन आएकामध्ये एकको पिसाब थैलीमा बढी समस्या र अर्का एकको क्यान्सरको लक्षण देखिएकाले उनीहरूलाई पनि नेपालगञ्ज सिफारिसस गरिएको छ।
‘शिविरमा सेवा लिन आएका करिब ८० प्रतिशत महिलामा प्रजनन अंगमा संक्रमण देखिएको छ। शिविरमा ६५ को भिडियो एक्सरे गरिएको छ,’ मुनुवा स्वास्थ्यचौकीका प्रमुख विष्टले भने, ‘ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पाएपछि गाउँका महिला खुसी भएका छन्।’
उनले लामो समयदेखि उपचार सेवा लिन नसकेका महिलाले समेत उपचार गरेको बताए। पाठेघर खसेकी ७१ वर्षीया एक महिलाले गाउँमै चिकित्सक आएपछि उपचारमा आएको बताए।
शिविरमा नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत डा अस्मिता गौतम, कोहलपुर मेडिकल कलेजमा कार्यरत डा बबिता शाह, डा रामकुमार दास र टीकापुर अस्पतालमा कार्यरत डा अमित प्रजापतिलगायतको टोलीले सेवा दिएको थियो।
डा गौतमले अहिले पनि महिलाले रोग लुकाएर बस्ने गरेको बताइन्। ‘महिलामा थुप्रै स्वास्थ्य समस्या छ, लुकाएर वर्षौंसम्म पीडा सहेर बसेका छन्,’ उनले भनिन्, ‘शिविरमा कहिल्यै उपचारमा नगएका महिला पनि आए। धेरै महिलामा यौन तथा प्रजनन समस्या छ। यस्ता समस्या उपचार गरेमा निको हुन्छ भन्ने जानकारी नरहेको पाइयो।’
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपमकुमार चौधरीले घर सुन्दर बनाउनका लागि महिला स्वस्थ हुन आवश्यक रहेकाले गाउँपालिकाले स्वास्थ्य शिविरका लागि सहयोग गरेको बताए।