काठमाडौं – काठमाडौं मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागका प्रमुख प्रा डा सुनिल कुमार जोशी सम्मानित भएका छन। व्यवसायजन्य रोग विशेषज्ञ डा जोशीलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो।
महासंघले उनलाई ‘ग्रील तथा स्टील व्यवसायी राष्ट्रिय सम्मान २०७६’द्वारा सम्मान गरेको हो। प्राध्यापक डा जोशी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका नेपालका एकमात्र व्यवसायजन्य रोग विशेषज्ञ हुन्।
काठमाडौं विश्वविद्यालय अन्तर्गत सामुदायिक चिकित्सा विषयका पहिलो नेपाली प्राध्यापक उनी व्यवसायजन्य स्वास्थ्य अन्तराष्ट्रिय आयोगका बोर्ड सदस्य पनि हुन्। व्यवसायजन्य स्वास्थ्य सम्बन्धित प्रतिष्ठित अन्तराष्ट्रिय जर्नलका प्रमुख सम्पादक समेत हुन्।
प्रा डा जोशीले नेपालमा ग्रील तथा स्टील व्यवसायीमा संलग्न कामदारहरुको स्वास्थ्यको प्रबर्धन तथा श्रमिक र कामदारहरुको स्वास्थ्यको उत्थान तथा प्रबर्धनको लागि गरेको योगदानको कदर गर्दे सम्मानित गरिएको हो।