कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिँगेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई थप व्यवस्थित गरिने भएको छ। नेपाली सेनाको नारायणदल गणको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित केन्द्रमा गर्मी याम बढेसँगै सर्पदंशका बिरामी आउनेको सङ्ख्या बढेको छ । यहाँ गर्मी मौसममा बिरामीको चाप बढ्छ।
यही वैशाखका आजसम्म मात्रै चार बिरामीले सेवा लिएको सर्पदंश उपचार केन्द्र गोरुसिँगेका सचिव नवीन भण्डारीले जानकारी दिए। केन्द्रमा प्रदेशका जिल्लाबाट मात्र नभई छिमेकी भारतका विभिन्न स्थानबाट समेत उपचारका लागि सेवाग्राही आउने गरेको बताइएको छ । उनले भने, 'सर्पले डस्नेबित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा ब्लेडले चिर्ने लगायत कार्य गर्दा बिरामीको मृत्यु हुन्छ।'
केन्द्रले गर्र्मी याम शुरु भएसँंगै सर्पदंशका बिरामी बढ्ने भएकाले बिरामी कम गर्न गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएको समेत जनाइएको छ।
टाढाबाट आउने बिरामीलाई असहज भएकाले नगरपालिकाको आर्थिक सहयोगमा केन्द्रलाई एम्बुलेन्ससहित थप व्यवस्थित बनाइने नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले भने, 'विगतका वर्षहरुमा बिरामीको चाप बढेसंँगैै अक्सिजनको अभावका कारण बिरामीले समस्या भोग्नुपरेको थियो । त्यस कारण यस वर्ष नगरपालिकाबाट बजेट विनियोजन गरी एम्बुलेन्स, इलेक्ट्रिक अक्सिजन लगायतका उपकरण थप्ने योजनामा छौँ।'
दश वर्ष अघि स्थापित केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरिएको छ। रासस