बागलुङ– गण्डकी प्रदेश सरकारले स्थानीय तहमा उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविका र प्रारम्भिक बालविकास सहजकर्तालाई सम्मान गरेको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलले ११ जिल्लाका १ सय ७० स्थानीय तहबाट एक/एक जना छनोट गरी पुरस्कृत तथा सम्मान गरेको हो।
स्वच्छ र शिक्षित समाज निर्माणका लागि महिला स्वास्थ्य स्वयंसेविका र बालविकास सहजकर्ताको अहं भूमिका हुने हुँदा उनीहरुको उच्च कदर गर्दै सम्मान गरिएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन्।
‘यो प्रदेश सरकारको पहिलो प्रयास हो,’ मन्त्री पुनले भनिन्, आगामी दिनमा मन्त्रालयले समाज र समुदाय केन्द्रित कार्यक्रम ल्याउँछ।’
सम्मानित स्वयंसेविका र सहजकर्तालाई नगद ४ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाइएको थियो।
प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंवेविकाको कामलाई उच्च सम्मान गरेकोमा आफूलाई निकै खुसी लागेको बागलुङ नगरपालिकाकी महिला स्वास्थ्य स्वयंसेविका उमा खड्काले बताइन्।
हरेक स्थानीय तहले उत्कृष्ट काम गर्ने एक जना स्वयंसेविका र सहजकर्तालाई छानेर पठाउनका लागि प्रदेश सरकारले निर्देशन दिएको थियो। सोहीअनुसार स्थानीय तहको छनोटमा परेका व्यक्तिहरुलाई प्रदेश सरकारले सम्मान गरेको हो।