बागलुङ – बागलुङबाट चल्ने बसहरुमा फस्ट एड बक्स राख्न थालिएको छ। वेलनेश टिम काठमाडौंको सहयोगमा बुधबार धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका बसमा फस्ट एड बक्स राखिएको हो।
बुधबार एक कार्यक्रमको आयोजना गरेर कम्पनीका दुई सय बसमा फस्ट एड बक्स राख्न कार्य थालिएको हो। वेलनेश टिमकी अध्यक्ष नितु खड्का र बागलुङ नगरपालिका वडा नम्बर ३ की वडाअध्यक्ष लक्ष्मी बास्कोटाले समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गरेका थिए। 'हरेक घर, फस्ट एड बक्स' अवधारणा अनुसार काम गरिरहेको वेलनेस टिमले बसमा समेत फस्ट एड बक्स जरुरी रहेको महशुस गरेर यस्तो कार्य थालेको हो।
बसमा यात्रा गर्दा विच बाटोमा यात्रुहरुमा आउने स्वास्थ्य समस्याको प्राथमिक उपचार हुन सकोस् भन्ने उद्देश्यले बसलाई फस्ट एड बक्स राख्ल लगाइएको अध्यक्ष खड्काले बताइन्। हरेक नेपालीका घरमा फस्ट एड बक्स पुर्याउने लक्ष्य सहित आफूहश्र अघि बढिरहेको उनी बताउँछिन्। उनले भनिन्, 'यसले सानो घाउ वा अरु केही हुँदा स्वास्थ्य संस्था कुदिहाल्नुपर्ने अवस्थाको अन्त्य त गर्छ । साथै स्वास्थ्य सम्बन्धि चेतना विकास गर्न पनि सघाउँछ।'
प्रति बक्स एक हजार रुपैयाँ लागत रहेको बक्स आर्थिक अवस्था कमजोर भएको परिवारलाई ५० रुपैयाँसम्ममा उपलब्ध गराउने योजना वेलनेसको छ। बक्समा सामान्य चोटपटक लाग्दा प्रयोगमा आउने प्राथमिक उपचार सामाग्री, ज्वरो नाप्ने यन्त्र र घटाउने औषधि, जीवनजल, भुमिट रोक्ने औषधि, ब्लड प्रेसरको औषधि गरी १६ प्रकार औषधि र औजार रहेको खड्काले जानकारी दिइन्।
बसमा यात्रा गर्दा सामान्य बिरामी भएका यात्रुलाई उक्त बक्सले सघाउने धौलागिरी अञ्चल यातायात बस ब्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताउँछन्। उनले भने, 'बसमा कोही यात्रु बिरामी पर्दा सामान्य सहयोग चालक र सहचालकले गर्छन् । तर यसले बिरामी यात्रुको उपचार जरुरी रहेको चेतना समेत उनीहरुलाई दिन्छ।'
बागलुङ नगरपालिका वडा नम्बर ३ की वडाअध्यक्ष लक्ष्मी बाँस्कोटाले अभियानको निरन्तरताका लागि शुभकामना दिइन्।