प्युठान- पछिल्लो समयमा सर्ने रोगहरुभन्दा नसर्ने रोगहरुको प्रकोप बढ्न थालेपछि नेपाल सहित विभिन्न देशहरुमा अंग्रेजी मे महिनालाई रक्तचाप मापन महिनाको रुपमा मनाउने अभियान सुरु भएको छ।
नेपालमा पनि राष्ट्रव्यापी अभियानको रुपमा यो अभियान सुरु गरिएको छ। पछिल्लो समयमा उच्च रक्तचापका कारण धेरै मानिसको मृत्यू हुने र जोखिममा पर्न थालेपछि नेपालमा पनि यो अभियानको थालनी गरिएको हो।
विश्वमा उच्च रक्तचाप र मुटु रोगका कारण प्रत्येक बर्ष ९४ लाख मानिसहरुको मृत्यू हुने गरेको तथ्यांकमा उल्लेख छ।
नेपालका अन्य स्थानमा झैँ प्युठानमा पनि यो अभियान सुरु भएको छ।
प्रदेश ५ मा समाजिक विकास मन्त्री सुर्दशन बरालको रक्तचाप मापन गरी सुरु गरिएको यो अभियान प्युठानमा भने शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचार्यको रक्तचाप मापन गरी सुरु गरिएको छ।
यो अभियान अन्र्तगत ५ नम्बर प्रदेशका प्युठान, कपिलवस्तु, रुपन्देही जिल्लामा सुरु भईसकेको भन्दै १२ वटै जिल्लाहरुमा अभियानलाई प्रभावकारी रुपमा सफल बनाउन क्रियासिल भएर लागि रहेको नेपाल जनस्वास्थ्य संघ ५ नम्बर प्रदेशका अध्यक्ष तथा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
उनले यस कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले आ आफ्नो स्थानबाट सहयोग पुर्याउन सबै स्थानिय तह, सरकारी तथा गैरसरकारी संघ संस्था, स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेका छन्।
रक्तचापका कारण हृदयघात हुने, रक्तनली फुट्ने, पक्षघात हुने, मिर्गौला फेल हुने, आँखाबाट रगत बग्ने लगायतका समस्या आउने हुन्छ।