काठमाडौं - नेपाल स्वयंसेवी रक्तदाता समाजको १४ औं केन्द्रिय राष्ट्रिय साधारणसभा सम्पन्न भएको छ। शनिबार राजधानिमा आयोजित साधारणसभामा कन्द्रिय समितिका साथै २५ जिल्लाका प्रतिनिधीहरुको सहभागिता थियो।
कार्यक्रममा समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बिरामीको जीवन बचाउने रगतमा चर्को शुल्क लिने काम भइरहेको भन्दै रगतलाई निशुल्क बनाउनु पर्ने माग गरे। उनले उपत्यकामा सँधै रगतको अभाव हुने गरेको भन्दै रेडक्रसको व्यवस्थापनमा समेत प्रश्न उठाए।
केन्द्रिय रक्तसञ्चार व्यूरोकी अध्यक्ष समेत रहेकी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले रगतको शुल्कका विषयमा ध्यानाकर्षण गर्दै स्वास्थ्य बिमा मार्फत निशुल्क वितरणको काम अगाडि बढाउन लागिएको जानकारी दिइन्।
व्लड बैंककी निर्देशक डा मनिता राजकर्णिकारले रगतको सहज उपलव्धताका लागि काम भइरहेको जानकारी दिइन्।
कार्यक्रममा समाजका रुपन्देही शाखा प्रमुख कृष्ण चौहान, नेपाल थालेसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक, समाजका उपाध्यक्ष ध्रुव थपलिया, समाजका संस्थापक अध्यक्ष दिव्यमणि दीक्षित लगायतले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका कानुनी सल्लाहकार अधिवक्ता नारायण प्रसाद श्रेष्ठ, प्राविधिक सल्लाहकार प्रा डा विशेष पौडेल, सह प्रा डा रत्नमणि गजुरेललगायतको उपस्थिति रहेको थियो।