ललितपुर- नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ। अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ।
यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको वडा नं २७ (साविक सुनाकोठी गाविस) मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले बताए। उनले भने, “त्यस स्थानमा झण्डै १७ रोपनी खाली जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ।”
ललितपुर उपमहानगरपालिका भएदेखि नै यहाँ सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए। ललितपुरमा लामो समयसम्म जिल्ला अस्पताल नभएपछि अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो। महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको थियो। रासस