डडेल्धुरा–अमरगढी नगरपालिकामा बृहत् पोषण प्याकेज २०७६ सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।
पोषणको अवस्थामा सुधार गर्न स्वास्थ्यकर्मी र पत्रकारले खेल्नुपर्ने भूमिका एवम् कुपोषित हुन नदिन पूर्व योजनाहरू अवलम्बन गर्ने लगायतका उद्देश्यले तालिमको आयोजना गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा नगरपालिका भित्रका अधिकांश स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सहभागी थिए।
तालिममा कुपोणको अवस्था, पोषिलो खानेकुराहरू, व्यवहार परिर्वतन, किशोरीहरूमा रक्तअलपत्ताको समस्या, सरसफाइ, पोषणको अवस्था सुधारमा भावी कार्ययोजना लगायतका विषयमा प्रशिक्षण गराइएको डडेल्धुरा अस्पतालको पोषण सुधार गृहका प्रमुख तथा प्रशिक्षक कल्पना भट्टले बताइन्।
कार्यक्रममा स्वास्थ्य चौकी तथा अस्पतालमा आएपछि बच्चा कुपोषित छ कि छैन भनेर पत्ता लगाउने र बच्चालाई कसरी औषधि उपचार गरी सामान्य अवस्थामा ल्याउने लगायतका विषयमासमेत छलफल भएको प्रशिक्षक भट्टले बताइन्।
सुत्केरी भएको समयमा दूध दही, माछा मासु तथा कतिपय स्थानमा नुनसमेत दिन हुन्न भन्ने परम्परागत सोचले बालबालिकाहरू कुपोषणको सिकार हुने गरेको नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले बताए।
बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको प्रशिक्षकहरूको भनाइ थियो।
आइतबारदेखि सुरु भएको तालिमको नगर प्रमुख विश्वेश्वर प्रशाद ओझाले समापन गरे। समापनमा बोल्दै नगर प्रमुख ओझाले नगरपालिकाले विगतमा केही समस्या रहेको स्वास्थ्य क्षेत्रमा अब सुधार गर्ने योजनाका साथ लाग्ने बताए।
उनले उत्कृष्ट काम गर्ने स्वास्थकर्मीहरूलाई सम्मान गर्ने योजना समेत रहेको बताए।
नेपालमा विगतको दुई दशकमा बालबालिकामा न्यून पोषणको दर उल्लेखनीय रुपमा घटेको छ।