पोखरा– कास्कीको मादी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता अभियान सम्पन्न भएको छ। 'स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप दिगोपना हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ मादी गाउँपालिकाका १२ वटै वडामा वैशाख महिनाभर यो अभियान सञ्चालन गरिएको हो।
मादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले गाउँपालिकाका सबै वडामा पुगी पूर्ण खोप सुनिश्चितता दिगोपना कायम प्रतिबद्धता घोषणा कार्यक्रम सञ्चालन गरिएको बताए।
घोषणा कार्यक्रम गर्नुपूर्व गाउँपालिकाका १२ वटै वडाका प्रत्येक घरमा पुगी घरधुरी सर्वेक्षण, तथ्यांक भेरिफिकेसन र खोप लगाउन छुटेका बालबालिकालाई खोप सेवा प्रदान गर्ने काम सम्पन्न गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले अभियानका रुपमा गरिएको यस कार्यक्रमले स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकारले अपनत्व लिएको सन्देश प्रवाह भएको बताइन्।