भक्तपुर- भक्तपुर नगरपालिकाका–९ च्याम्हासिंहमा छाती पुनःस्थापना केन्द्र स्थापना गर्ने भएको छ। केन्द्रको नवनिर्मित भवनको आज नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा उनले भक्तपुर नगरमा श्वासप्रश्वास सम्बन्धी रोगका बिरामीलाई फिजियोथेरापी विधिमार्फत् उपचार गर्ने पहिलो छाती रोग पुनःस्थापना केन्द्र भक्तपुरमा सञ्चालन हुनु गौरवको कुरा भएको बताए।
यसै वर्षभित्र भक्तपुरको मौलिकशैलीमै उक्त भवन निर्माण सम्पन्न गरी त्यही भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको उनको भनाइ थियो। उनले जापान सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त छाती पुनःस्थापना केन्द्रबाट देशभरका दम रोगीको उपचारमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै ख्वपको पहिचान कायम गर्न इमान्दारीपूर्वक सेवाभावले काम गर्नुपर्ने बताए।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशलाई अगाडि बढाउन युवा शक्ति स्वस्थ हुनुपर्ने बताउदै नगरपालिकाले कडा रोग लागेका नगरवासीका लागि रु १० हजार आर्थिक सहयोग प्रदान गर्दै आएको बताइन्।
सोलिड नेपालका अध्यक्ष डा खेम कार्कीले भवन निर्माण सम्पन्न भएपछि जिम्टेफको तर्फबाट फिजियोथेरापी विधिमार्फत् दम रोगको उपचार गर्न आवश्यक उपकरण जडान गरिने बताउनुहुँदै नगरपालिकामार्फत् उपलब्ध गराइने चिकित्सक एवं प्राविधिक जनशक्तिलाई जिम्टेफकै चिकित्सकले उपचारसम्बन्धी तालीम दिएर दम रोगीको उपचारको थालनी गरिने बताए।
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी लगायतले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको स्वास्थ र शिक्षाका कार्यक्रममा प्रभावकारी भएको बताए। रासस