रुकुम पूर्व - पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो।
चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनलाई हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए।
सुत्केरी व्यथा लागेपछि उनलाई गत वैशाख ३० गते स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। तीन दिनसम्म सुत्केरी हुन नसकेपछि मल्ललाई जिल्ला प्रशासन कार्यालयको रोहवरमा हेलिकप्टरबाट उद्धार गरिएको हो। सडक सुविधा नहुँदा दुर्गम गाउँका सुत्केरीको अस्पताल पुर्याउन नपाउँदै बाटोमै ज्यान जाने गरेको छ। रासस