रुकुम (पूर्व)- रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छिन्। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ।
अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। मल्लको अहिले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ।
मल्ललाई सेनाको हेलिकप्टरमार्फत भेरी अञ्चल अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले बताए। सुत्केरी व्यथा लागेको उहाँलाई वैशाख ३० गते मङ्गलबार स्वास्थ्यचौकी रिवाङचौरमा भर्ना गरिएको थियो।
तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि बिहीबार मात्र जिल्ला प्रशासन कार्यालयमा यो कुरा जानकारी हुनआएको र तुरुन्तै हेलिकप्टर बोलाई सुत्केरीको उद्धार गरिएको सहायक प्रजिअ साहले बताए। रासस