काभ्रे - पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। नगरपालिकाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो।
गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताइन्। उनले भनिन् “नगरपालिकाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम शुरु गरेका छन्।” उनका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ।
‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ। त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिइन्।
एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ। सोहीअनुसार नपाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ। गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको छ।
नगरभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारले बताइन्।
‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमसँगै प्रत्येक वडामा नगर कार्यपालिका प्रतिनिधि तथा स्वास्थ्य कर्मचारीको सहभागितामा घुम्ती बैठक गरिने भएको छ।
“घुम्ती बैठकबाट वडामा देखिएका स्वास्थ्य समास्याबारे छलफल गरी समाधनका उपाय खोजिनेछ”, नपा उपप्रमुख दनुवारले भनिन्। १४ वडा रहेको पाँचखाल नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी छन्। रासस