रुकुम (पश्चिम)- रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण गर्न लागेको हो।
नमूनाका रूपमा जिल्लाका १२ विद्यालयका कक्षा १ र २ मा अध्यनरत छरसात वर्ष उमेरका ३८७ बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिने महाशाखाले जनाएको छ। जिल्लामा जेठ आजदेखि सर्वेक्षण शुरु हुने सर्वेक्षण कार्यक्रमका सुपरभाइजर सञ्जयबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार सर्वेक्षणमा तीन समूह परिचालन हुने र करीब २० दिनमा सक्ने लक्ष्य राखिएको छ। हात्तीपाइले निवारणका लागि जिल्लामा यसअघि छ चरणसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो। विसं २०६७ देखि २०७२ सम्म प्रत्येक वर्ष एकपटक गरी छ चरणमा औषधि खुवाइएको हो। छ चरणको औषधि खुवाइसकेपछि जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन सर्वेक्षण हुनलागेको चन्दले बताए। विश्व स्वास्थ्य सङ्गठनले छनोट गरेका प्रत्येक स्थानीय तहका दुईरदुई गरी १२ विद्यालयमा नमूनाका रूपमा सर्वेक्षण हुने उनको भनाइ छ।
उनका अनुसार चौरजहारी नगरपालिका–१३ रातामाटाको जनकल्याण आधारभूत विद्यालयका ३६, चौरजहारीकै वडा नं १२ को जनकल्याण मावि सानाखोलोका ४२, त्रिवेणी गाउँपालिका–७ को बालबोध आधारभूत विद्यालय भुर्तिबाङका १४ र त्रिवेणी–१ को सिस्नेजनता आधारभूत विद्यालय बल्लेका २४ विद्यार्थीमा हात्तीपाइलेको परीक्षण गरिनेछ।
त्यस्तै मुसीकोट नगरपालिका–६ को जनचेतना आधारभूत विद्यालय डाँडीगाउँका १६, मुसीकोट–१३ को प्रभात मावि दोपाइका ३२, सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय फुक्रुका २२ र सानीभेरी–५ को जनज्योति मावि मेलचौरका ५४ विद्यार्थीमा पनि हात्तीपाइलेको परीक्षण गरिनेछ।
बाँफिकोट गाउँपालिका–१० को महेन्द्र आधारभूत विद्यालय पुरानोठाँटीमा अध्यनरत १९, बाँफिकोट–१ को आधारभूत विद्यालय लागिममा अध्यनरत ८६, आठबीसकोट नगरपालिका–१४ को आदर्श मावि घेत्मामा अध्यनरत २७ र आठबीसकोट–६ को मालिका भगवती आधारभूत विद्यालयमा अध्यनरत १५ विद्यार्थीमा समेत हात्तीपाइलेको सङ्क्रमण भएरनभएका बारेमा जाँच हुने सुपरभाइजर चन्दले जानकारी दिए।
“विद्यार्थीको रगत निकालेर यस रोगको परीक्षण गरिनेछ”, उनले भने, “विद्यार्थीमा यस रोगको सङ्क्रमण भेटिएमा उपचारका लागि अस्पताल जान सुझाव दिइनेछ।” रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान र रोल्पालाई एउटा युनिट मानेर हात्तीपाइलेको सर्वेक्षण गर्न लागिएको हो।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य पूरा गर्न नेपालले पनि विभिन्न गतिविधि गरिहेको छ। त्यसैअनुसार देशमै हात्तीपाइले रोगको अवस्था के छ र यसका लागि आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर योजना निर्माण गर्न छ चरणमा हात्तीपाइलेको औषधि खुवाइसकिएका जिल्लामा यस्तो सर्वेक्षण गर्न लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। रासस