महोत्तरी - महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह (बर्थिङ सेन्टर) नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ। जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो।
तीस हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको त्यस गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् तर गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले बताए।
उनका अनुसार एउटा पनि प्रसूतिगृह नहुँदा त्यहाँका महिला जोखिमपूर्ण अवस्थामा बच्चा जन्माउन बाध्य छन्। पहिलेका तीन गाविस महोत्तरी, गोनरपुरा र डाम्हीमडै मिलेर नयाँ बनेको उक्त गाउँपालिकामा मात्र तीन स्वास्थ्य चौकी भए पनि प्रसूति गराउने व्यवस्था नभएकाले गर्भवती महिलालाई सदरमुकामस्थित जिल्ला अस्पताल वा जनकपुर अञ्चल अस्पताल जानुपर्ने बाध्यता रहेको वडा नं ५ का महिला स्वास्थ्य स्वयंसेविका बेदनीदेवी महतोले बताइन्।
उनका अनुसार दिउँसो ब्यथा लागेर प्रसूति हुने महिला समयमै सुविधा सम्पन्न अस्पतालमा जान सक्ने तर बेलुका र रातिको समयमा ब्यथा लाग्ने महिलाका लागि भने समस्या छ। उक्त गाउँपालिकाका अध्यक्ष सुनिलकुमार रायले चाँडै सुविधा सम्पन्न प्रसूतिगृह निर्माण गर्ने र त्यसका लागि सम्बन्धित निकायबाट पहल भइरहेको बताए।
उनले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलालाई सुरक्षितरुपमा प्रसूति गराउन स्वास्थ्य चौकीका महिला स्वास्थ्यकर्मीलाई तालीमसमेत दिन थालिएको जानकारी दिए। रासस