डडेल्धुरा - बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृमृत्युदर र नवजात शिशुमृत्युदर घटाउने उद्देश्यले पूर्ण संस्थागत सुत्केरी अभियानलाई तीव्रता दिने भएको छ।
गत बर्ष गाउँपालिकाको –४ श्रीकेदारलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेकोमा यो बर्ष थप अन्य केही वडाहरुलाई पनि घोषणाको तयारी गरेको हो।
वडा नं १ रिम, वडा नं ५ न्वाली र वडा नं ८ कटौजपानीलाई जेठ महिनाभित्रै पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको तयारी भएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। घोषणाको तयारी भएका वडामा रहेका स्वास्थ्य संस्थावाट ९५ प्रतिशत बढी महिला स्वास्थ्य संस्थामै सुत्केरी भएको तथ्यांक प्राप्त भएपछि घोषणाको तयारी भएको उनले बताए।
१ बर्षमा ९५ प्रतिशतभन्दा बढी महिला स्वास्थ्यसंस्थामै सुत्केरी भएको, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराएको, नियमित रुपमा ४ पटक गर्भ जाँच गराएको र दिगोपनाको लागी सम्वन्धित स्वास्थ्य संस्थाको व्यवस्थापन समितिले प्रतिबद्धता जनाएपछी पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने गरिएको छ।
अन्य वडालाई पनि निकट भविष्यमै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्दै गाउँपालिकाकालाई अगामी २ बर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ। पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणापछी मातृमृत्युदर र नवजात शिशुमृत्युदरमा कमी आउने दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की बताउँछिन्।
गाउँपालिकाले मातृशिशुमृत्युदर घटाउने उद्देश्यले १ लाख ६० हजारको मातृशिशु आकस्मिक कोषको समेत स्थापना गरेको छ।