डा मिलन कुमार थापा पेसाले एनेस्थेसियोलोजिस्ट हुन्। उनी हाल ग्रान्डी इन्टरनेसनल हस्पिटलमा कार्यरत छन्। स्वास्थ्यप्रति निकै सजग रहने मिलन ‘जिम’ प्रेमी हुन्। जतिसुकै व्यस्त तालिका भएपनि उनले जिमका लागि समय निकाल्ने गरेका छन्। स्वास्थ्यखबरको शनिबारीय स्तम्भ जीवनशैलीमा डा थापासँग बुनु थारुले गरेको फिटनेस संवादः
तपाई आफूलाई फिट र स्वास्थ्य रहन के उपाय अपनाउनुहुन्छ?
म आफ्नो स्वास्थ्यमा धेरै ध्यान राख्छु। आफू स्वस्थ तथा फिट रहन नियमित जिम जान्छु। हरेक बिहान ८ बजे देखि १० बजेसम्म जिम गर्छु। तर, अफिसको ड्युटीअनुसार समय हेरफेर हुन्छ। म दैनिक आधा घण्टा कार्डियो गर्छु। त्यसैगरी शरीरका विभिन्न मांसपेशीको व्यायाम गर्छु। जस्तैः छाती, खुट्टा, आदि। यसका साथै हप्ताको ३ दिन मैले साउना र स्टिम बाथ पनि लिने गरेको छु।
जिम कहिलेदेखि गर्न थाल्नु भएको हो?
सामान्य व्यायामहरू पहिला पनि गरिन्थ्यो। जिम निरन्तर जान थालेको भने ५–६ वर्ष भयो। हामी डाक्टरहरुको जीवन व्यस्त हुने र धेरैजसो कुर्सीमा बसेर काम गर्नुपर्ने हुन्छ। त्यसकारण शारीरिक रुपमा सक्रिय हुँदैन। आफ्नो शरीर सक्रिय होस् भनेर जिम गर्न थालेको हो। त्यसका अलावा मेरो परिवारमा उच्च रक्तचापको वंशाणुगत समस्या रहेको छ। व्यायामले रक्तचाप नियन्त्रण राख्छ भनेर पनि म जिम गर्छु।
फिट रहन पहिले चाहिँ के गरिन्थ्यो?
मेरो पढाइ धेरैजसो भारतमा नै भयो। त्यहाँ स्कुलमा धेरै फुटबलहरू खेलिन्थ्यो। अहिले पनि खेल्छु। साथीहरुसँग फुटसल जान्छु। २००६ मा नेपाल मेडिकल कलेजहरूको फुटबल च्याम्पियनसिप थियो, त्यसमा म आफ्नो टिमबाट कप्तान थिएँ र हामीले त्यो टुर्नामेन्ट पनि जितेका थियौं। त्यसैगरी म थुप्रै अरु फुटबल प्रतियोगितामा कप्तान भएर सहभागिता जनाएको थिएँ।
जिम सेन्टर घरबाट कति टाढा छ?
म नख्खुमा रहेको फ्लेक्स फिटनेस सेन्टरमा जिमको लागि जान्छु। घरबाट मेरो जिम सेन्टर हिँडेर १५ मिनेट लाग्छ भने गाडीमा २ मिनेटमा पुगिन्छ। अफिस ११ बजे नै पुगिसक्नुपर्ने हुनाले म पैदल जाँदिन।
फिटनेस सेन्टरका अरु व्यायायमहरू के के गर्न मन लाग्छ?
विशेषगरी मलाई त कार्डियो नै मनपर्छ। त्यसबाहेक बक्सिङमा पनि रुचि छ। मैले गर्ने फिटनेस सेन्टरमा त्यो सुविधा नभएकाले गर्न पाएको छैन।
तपाईंको फिटनेस आइकन को हो?
त्यस्तो विशेष यो भनेर आइकन त कोही छैन। मैले फिटनेस सेन्टर जोइन गर्दा बिनिता राई पनि सँगै जोइन हुनुभएको थियो। त्यतिबेला उहाँ निकै मोटी हुनुहुन्थ्यो। कति मोेटी होला भनेर जिस्काउँथे पनि। तर, अहिले उहाँ निकै फिट हुनुभइसकेको छ। प्रेरित यसकारणले हुुन्छु कि अहिले उहाँ फिटनेसकै कारणले बडी बिल्डिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै हुनुुहुन्छ।
जिम किन गर्ने?
मेरो विचारमा ‘बडी सो अप’ ठूलो कुरा होइन। मुख्य कुरा त आफू स्वस्थ रहनलाई जिम गर्ने हो। आफ्नो शरीरमा भएको अनावश्यक बोसो घटाउनु महत्वपूर्ण कुरा हो। आकर्षक शरीर दोस्रो प्राथमिकतामा पर्छ।
व्यस्त जीवनमा जिमका लागि समय कसरी निकाल्नुहुन्छ?
ड्युटी सिफ्ट कहिले बिहान, दिउँसो र राति पर्ने भएकाले त्यहीअनुसार समय निकाल्छु। दिउँसो भयो भने ८ बजेदेखि १०, बिहानको ड्युटी छ भने १० देखि १२ र रातिको ड्युटी छ भने ४ बजेदेखि ६ बजे। सिफ्टअनुसार जिममा समय बिताउँछु।
जिम गर्न छाड्यो भने मान्छेको शरीर बिग्रन्छ भन्छन् नि?
हो यो कुरा सत्य हो। जिम जान थालेपछि मान्छेको शरीरमा रहेको क्यालोरी, चिनी, बोसोको मात्रा घट्छ। फेरि जिम गर्न छोड्यो भने ती सबै जम्मा हुन थाल्छ र बनेको शरीरको बनोट पनि बिग्रन्छ। त्यसैगरी खानेकुरामा ध्यान दिन जरुरी छ। जिम गर्यो भने बोसो घट्छ र एकदम भोक लाग्छ। मान्छे भोक लाग्यो भने टन्न खाइहाल्छन्। शरीर मेन्टेन गरिरहन लो सुगर र कार्बोहाइड्रेट भएको खानेकुरामा ध्यान दिनुपर्यो। त्यसैगरी प्रोटिन, सलादहरू खानुपर्यो। मासु पनि खानुपर्छ तर एकदम धेरै डिप फ्राइ गरेको होइन। त्यसैगरी पानीहरू प्रशस्त मात्रामा पिउने तर ड्रिंक्सहरू बाट टाढा हुनुुपर्छ।
जिम गर्नेका लागि के सुझाव छन्?
जिम गर्ने सोचमा हुनुहुन्छ भने सुरुमा राम्रो फिटनेस सेन्टरमा दक्ष ट्रेनरको निगरानीमा जिम सिक्नुपर्छ। जो पायो त्यहीसँग गर्दा कहिलेकाहीँ वेट लिफ्टिङ गर्दा दुर्घटना हुन सक्छ। जिम गर्दा मांसपेशीहरू च्यातिन सक्छन्। जिम गर्ने ठाउँमा व्यायाम गर्ने सामाग्री प्रशस्त हुुनुपर्छ। जहिले पनि डाइटमा ध्यान दिनुपर्छ।
जिम गर्नुभन्दा पहिले र अहिलेमा के फरक पाउनुहुन्छ?
जिम गर्न थालेपछि मेरो पाचनशक्तिमा परिवर्तन आएको छ। खाएको कुरा राम्ररी पच्ने गरेको छ। त्यसैगरी मेरो हल्का माइग्रेनको समस्या पनि छ। जिमले त्यसलाई पनि धेरै राहत पु¥याएको छ। पहिलाभन्दा एकदम कम भएको छ। त्यसैगरी मेरो शारीरिक बनोट पनि आकर्षक भएको जस्तो लाग्छ। म धेरै हरियो तरकारी र फलफूलमा जोड दिन थालेको छु।
तपाईंको शरीर देखेर मानिसहरू कत्तिको लोभिन्छन्? प्रपोज पनि आउँछ होला नि?
(हाँस्दै) शरीर देखेर लोभिने छन् नि। सिंगल हो कि होइन भनेर पनि सोधेका छन्। धेरैले चाहिँ कुन फिटनेस सेन्टरमा गएर यस्तो आकर्षक शरीर बनाउनु भयो, हामी पनि जान्छौं भनेर चासो देखाउँछन्।