काठमाडौं- जीवनको पहिलो तलब मैंले २०१६ सालमा थापेको हुँ। त्यतिबेला मासिक २०० रुपैयाँ कमाउँथें।
आफूले मिहनेत गरेर कमाएको पैसाको ठूलो महत्व हुनेरहेछ, त्यसमाथि पनि पहिलो तलब। एकदम खुसी लाग्यो। मैंले तलब पाएपछि सर्वप्रथम लड्डु किनें। त्यतिबेला हलुवा फोसाको रुपमा आउँथ्यो। त्यो सबै बाँडेर खुवाएँ।
म पर्फ्युमको एकदमै शौखिन। मैंले आफूलाई मिठो बास्ना आउने पर्फ्युम समेत किनें। बाहिर खाना पनि खाएँ। केही रकमले साथीभाइलाई खुवाएँ पनि। केही लुगा किनेजस्तो लाग्छ। घरपरिवारलाई दिइनँ, आफैंले रमाएर खर्च गरेँ।
मैले पाएको पहिलो तलबले आफूले मनपर्ने एट्लास साइकल किनेँ त्यतिबेला काठमाडौँमा यातायातको सुविधा थिएन। पैदलै हिँड्थे। सायद त्यो १७५ रुपैयाँ परेको जस्तो लाग्छ। त्यतिबेला र्याले साइकल खुब चलेको थियो राम्रो पनि भन्थे। मैले त्यो चाहिँ २ महिनापछि किनेँ।
त्यतिबेलामा म त्रिचन्द्र कलेज अगाडिको सरस्वती सदनमा मेडिकल अफिसरको रुपमा काम गर्थें। विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिन्थेँ। स्वास्थ्य जाँच गरिन्थ्यो। औषधी पनि दिइन्थ्यो।
डाक्टर अनि इन्जिनियरजस्ता प्राविधिक टोलीलाई ८० रुपैयाँको भत्ता पाइन्थ्यो। सैनिक द्रव्य कोषका लागि १७ कि १८ रुपैयाँ जति पैसा काटिन्थ्यो।
(स्वास्थ्यखबरले शनिबारको जीवनशैली स्तम्भका लागि गरिएका कुराकानीमा आधारित)