बालबालिकाका आँखामा हुने विभिन्न समस्यामध्ये एक हो, रेटिनोब्लास्टोमा अर्थात् आँखाको क्यान्सर। करिब २० हजार बालबालिकामध्ये एक जनामा यो रोग लाग्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको तिलगंगा आँखा उपचार केन्द्रमा मात्र वर्षेनि करिब ४० जनाको हाराहारीमा यो रोगका बिरामी आउने गरेको अस्पतालको तथ्यांक छ। आँखाभित्रको पर्दा (रेटिना)मा हुने यो कस्तो प्रकृतिको क्यान्सर हो? यसका कारण के हुन्? कसरी जोगिने? लगायतका विषयमा स्वास्थ्यखबरकी बिन्दु शर्माले तिलगंगा आँखा अस्पतालका उपनिर्देशक तथा प्राचार्य डा रोहित शैजुसँग कुराकानी गरेकी छन्ः
रोटिनोब्लास्टोमा भनेको के हो?
आँखाभित्र एउटा तह हुन्छ, जसलाई स्नायुको पर्दा पनि भन्ने गरिन्छ। त्यसमा उत्पन्न हुने अपरिपक्क कोषलाई नै रेटिनोब्लास्टोमा भन्ने गरिन्छ। रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो।
करिब २० हजार शिशुहरुमध्ये एकमा यो रोग देखा पर्छ। संख्यात्मक हिसाबमा हेर्दा यो रोग त्यति धेरै बालबालिकामा देखिँदैन।
बालबालिकामा यो रोग लाग्ने कारण के हो?
वंशाणुगत कारणले पनि यो रोग लाग्न सक्छ। हामीमा हुने जिनमा नै रेटिनोब्लास्टोमा बनाउने र दबाउने तत्व हुन्छ। त्यसमा रेटिनोब्लास्टोमा बनाउने जिन बढी सक्रिय भयो भने यो क्यान्सर देखिन्छ।
यो रोग सुरुमै पत्ता लगाएर समयमा नै उपचार गराएमा पूर्ण रुपमा निको हुन्छ। तर, समयमा पहिचान भएन र उपचार भएन भने चाँही बालबालिकाको मृत्यु पनि हुन सक्छ।
वर्षेनी ३५ देखि ४० जनाको हाराहारीमा यो रोगका बिरामी तिलगंगा आँखा अस्पताल आउने गर्छन्। धेरै मानिसहरु यसका बारेमा अझै अनविज्ञ छन्।
कतिपयहरुले आँखाको क्यान्सर पनि हुन्छ र? भनेर अचम्म मानेर सोध्ने गर्छन्। समयमा नै उपचारमा नआउँदा नेपाललगायत विकासोन्मुख देशमा यो रोग लागेपछिको मृत्युदर ३० देखि ७० प्रतिशत छ।
बालबालिकामा आँखाको क्यान्सर लागेको छ भनेर अभिभावकले कसरी पहिचान गर्ने?
बालबालिकाको आँखाको नानीमा सेतो टिकाजस्तो देखिनु, असामान्य रुपमा आँखा रोतो हुनु, आँखाको आकार ठूलो, सानो हुनु साथै आँखामा डेढोपनको समस्या देखिनु, आखाँ डल्लो बाहिर आउनु जस्ता समस्या देखिने बित्तिकै अभिभावकले समयमै अस्पताल पुर्याउनुपर्छ।
यो रोगको उपचार पद्धति के हो?
यो रोग विषेशगरी आखाँको पर्दाको जाँच गरी पत्ता लगाउन सकिन्छ। लेजर, क्रायोथेरापी, किमोथेरापी तथा रेडियोथेरापीबाट यो रोगको उपचार गर्न सकिन्छ। उपचारमा कहिलेकाँही ढिलो अवस्थामा पुगेको बिरामीको आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन्छ।
पहिला बिरामीको आँखाको शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो। पछिल्लो समय शल्यक्रिया नगरी पनि उपचार हुन थालेको छ। यसले गर्दा बिरामीलाई राहत पुगेको छ।
विस्तृत भिडियोमा