हालै फैलिएको डेंगु महामारीकाबिच स्क्रब टाइफसका संक्रमित बिरामी पनि बिस्तारै देखिने क्रम सुरु भइसकेको छ। पछिल्लो एक हप्तामा यसको संक्रमण ह्वातै बढेको देखिन्छ। हालै प्रकाशित तथ्यांकले पनि अब डेंगुको भन्दा स्क्रब टाइफस संक्रमितको संख्या बढ्दै गएको देखाउँछ।
स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म कीरा (माइट)को टोकाइका कारण लाग्ने गर्दछ।
यो मौसम स्क्रब टाइफस देखिने समय पनि हो। यो काठमाडौँ सहरमा देखिन थालेको भए पनि यहाँ रोगको पहिचान सरल र उपचार छिटो हुने भएकोले जटिलता हुने सम्भावना कम छ। तर ग्रामीण इलाकामा रोग पहिचान गर्ने किट सहजै उपलब्ध नहुने र टाइफाइड भन्दै अरू नै एन्टिबायोटिक औषधि प्रयोग गर्दै बस्दा पहिचानमा ढिलो हुन गई मृत्युसमेत हुने गरेको छ।
अहिले नै केही व्यक्तिको मृत्यु स्क्रब टाइफसका कारणले भएको सार्वजनिक भइसकेको छ। डेंगुभन्दा तीसौं गुणा बढी मृत्युदर भएकाले स्क्रब टाइफसलाई डेंगुभन्दा घातक रोगका रुपमा लिइन्छ। तर सुरुमा नै यसको पहिचान गर्न सके पूर्ण रुपमा निको पार्न सकिन्छ।
यो रोगको शुरुवाती चरणमा सामान्य एन्टिबायोटिक औषधि लिए अठ्चालीस घन्टामा ज्वरो तीव्र गतिमा कम हुँदै जान्छ। तर माथि उल्लेख गरेझैँ गाउँघरमा स्क्रब टाइफस पहिचान गर्ने किट र डाक्टर सहजै उपलब्ध नहुने भएकोले स्क्रब टाइफस पहिचान गर्ने सरल र घरेलु उपाय यहाँ प्रस्तुत गर्न खोजिएको छ।
क) लक्षणहरू
१) उच्च ज्वरो आउनु (१०४ डिग्री फरेनहाइट)।
२) अत्यधिक टाउको दुख्नु।
३) श्वास प्रश्वासमा अभरोध महसुस हुनु।
४) कृत्रिम आवाज सुनिनु/कान बन्द भए जस्तो हुनु।
५) आखा रातो हुनु/रसिलो हुनु।
६) शरीरमा दाग (घाउको कालो पाप्रो) देखिनु वा खटिरा देखिनु।
७) वाकवाकी लाग्नु/बान्ता हुनु।
ख) कुनै क्षेत्रमा स्क्रब टाइफसको इतिहास सो भन्दा पहिले नै देखिएको इतिहास भएमा वा त्यो क्षेत्रका छेउछाउका गाउँ/शहरमा पहिले देखिएको अवस्थामा स्क्रब टाइफस पुनः दोहोरिने संभावना हुन्छ।
ग) माथि उल्लेखित (क) र (ख) का लक्षण देखिएमा र निरन्तर ज्वरो (दश दिनभन्दा बढी) देखिएमा डोक्सिसाइक्लिन नामक औषधी प्रयोग गरेमा ज्वरो तीव्र गतिमा कम हुँदै जाने हुन्छ।
उल्लेखित (क), (ख) र (ग)को सम्मिश्रण देखिए स्क्रब टाइफस हुने सम्भावना प्रबल हुन्छ। यद्यपि स्क्रब टाइफसको निश्चित निदान भने प्रयोगशाला जाँचबाट मात्र गर्न सकिन्छ। यी उपाय बिरामीलाई मात्र नभई ग्रामीण इलाकामा कार्यरत स्वास्थकर्मीहरुको लागि पनि उत्तिकै उपयोगी हुन सक्ने विश्वास लिएको छु।
![](https://swasthyakhabar.com/uploads/news/files/2076/ashoj076/Screen%20Shot%202019-09-21%20at%202.09.01%20%20PM.png)
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटमा कार्यरत छन्।)