डा राजेन्द्र कोजु काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स, धुलिखेलका डिन हुन्। उनले लामो समयसम्म नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिएका छन्। उमेर बढ्दै गएपछि तिहार उनलाई झन् विशेष लाग्न थालेको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवारत उनले तिहारमा भाइटीका भने छुटाएका छैनन्। २ दिदीका भाई कोजुलाई दुवैजना उतिकै प्यारा लाग्छन्। उनले स्वास्थ्यखबरसँग आफ्नाे भाइटीका अनुभव यसरी सुनाएका छन्:
म हरेक वर्ष भाइटीका लगाउँछु। मेरो दुई जना दिदी हुनुहुन्छ। जेठी दिदी पनि हुनुुहुन्थ्यो तर मैले देख्न नपाई उहाँ बित्नुभयो। मैले अहिलेसम्म जस्तोसुकै व्यस्तताका बावजुद पनि भाइटिका छुटाएको छैन। एकजना दिदी काठमाडाैँ बस्नुहुन्छ र एकजना धुलिखेल नै। त्यसैले पनि भाइटिका छुट्दैन।
माइली दिदी र कान्छी दिदी हुनुहुन्छ। मलाई भाइटीकाको दिनमा मीठोमीठो परिकार बनाएर खुवाउनुहुन्छ दिदीहरुले। मैले आवश्यक घर सामग्री, लत्ताकपडा, किचेनका समानहरु गिफ्टको रुपमा दिने गरेको छु। आखिर यी सामानहरु दिए पनि सबैभन्दा ठूलो गिफ्ट त माया हो।
मलाई दिदीहरुका लागि गिफ्ट खरिद गर्नको लागि श्रीमतीले सहयोग गर्छिन्। दुवै दिदी मेरा लागि प्यारा छन्। दुवैलाई एकै खालका गिफ्टहरु दिने गरेको छु। बुवाले सानोमा पैसा दिनुहुन्थ्यो त्यही पैसा दिदीहरुलाई दक्षिणाको रुपमा दिने गर्थे। सायद दुई रुपैयाँजति दक्षिणा दिन्थे हो।
पहिले भाइटिका हरेक वर्ष आउने नियमित चाड जस्तो लाग्थ्यो, अहिले भने अलि विशेष लाग्छ। उमेर बढ्दै गएपछि अझै विशेष लाग्ने रहेछ। यस विशेष दिनमा एकै ठाउँमा गफिन पाइन्छ। सुख दुःखका कुरा गर्न पाइन्छ। मलाई दिदीहरुले सगुनको रुपमा दिइने अण्डा र बारा मनपर्छ।
मैले थाहा पाएदेखि अहिलेसम्म भाइटीका छुटेको छैन। यो वर्ष पनि रमाइलो सँग मनाउने इच्छा छ। हामी नेवारहरुको नेपाली भाइटीकाको भोलिपल्ट भाइटीका हुन्छ। र हामी भाइटीका साँझ लगाउने गरेका छौँ। यो पालि पनि रमाइलो हुन्छ होला।
(यसअघि नै मनाइएको भाइटीकाको तस्बिर। तस्बिर सौजन्यः डा राजेन्द्र कोजु)