काठमाडौं- बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित स्वास्थ्य जाँचका लागि अस्पताल आएको भन्दै ग्रान्डी अस्पतालले प्रेस विज्ञप्ति जारी गर्यो।
तर, उक्त विज्ञप्ति जारी भएको केही समयपछि नै सञ्चारमाध्यमले प्रधानमन्त्रीको मिर्गौलामा समस्या रहेको र डायलाइसिस गरेको खबर सार्वजनिक गरे। अस्पताल र बालुवाटार स्रोतले प्रधानमन्त्रीको डायलाइसिस गरिएको विवरण उपलब्ध गराएपछि अस्पतालको विज्ञप्ति झारा टार्ने हिसाबले निकालेको प्रमाणित भयो।
अस्पतालले देशका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी नदिएको भन्दै सर्वत्र अलोचना भयो।
बिहिबार अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पुगेका नेताहरुले प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको कुरा सार्वजनिक रुपमा नै बोले। त्यसपछि अस्पतालले बिहिबार साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको डायलाइसिस गरेको कुरा बाहिर ल्यायो।
पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्यका विषयमा सबै जानकारी दिने बताएका थिए। तर, त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यका विवरण लुकाए।
पत्रकार सम्मेलनमा पत्रकारहरुले पटक पटक प्रधानमन्त्रीको स्वास्थ्यको विस्तृत विवरण माग गरे पनि उनले त्यसको उत्तर दिनै चाहेनन्।
उनले प्रधानमन्त्री ओलीको दुई पटक डायलाइसिस भएको भने सार्वजनिक गरे। तर, डायलाइसिस किन गर्नु परेको हो? अब फेरि डायलाइसिसको आवश्यकता पर्छ किन पर्दैन? डायलाइसिस गर्नुअघि प्रधानमन्त्रीको शरीरमा क्रिएटिननको मात्रा कति थियो, पोटासियमको मात्रा कति थियो?
यस्तै युरिया, सोडियमको मात्रा कति थियो? र डाइलाइसिसपछिको अवस्था कस्तो छ? भन्ने कुनै पनि विवरण सार्वजनिक गरिएन।
पत्रकार सम्मेलनमा डा पाण्डेले प्रधानमन्त्री ओलीको क्रिएटिनन्को मात्र बढेकाले हेमोडायलाइसिसमा जानु परेको मात्र जानकारी दिए। तर, प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिननको मात्रा कति थियो र अहिलेको अवस्था के छ? शरीर कति शुन्निएको छ? ज्वरो कति छ र वाकवाकी लगायतका समस्या छ/छैन भन्ने विषयमा पनि कुनै जानकारी दिएनन्। सञ्चारकर्मीले पटक पटक यी विषयमा जिज्ञासा राख्दा उनी तर्किए मात्र।
क्रिएटिनन रगतमा हुने काम नलाग्ने व्यर्थ तत्व हो। रगतमा यसको मात्रा बढ्दै जानु शरीरका लागि खतरा हो।
चिकित्सकहरुका अनुसार सामान्यतया मिर्गौलाले रगतमा रहेका यस्ता व्यर्थ तत्वलाई छानेर पिसाबको माध्यमबाट बाहिर निकाल्छ। तर, मिर्गौलामा समस्या आयो भने रगतमा यसको मात्रा बढ्दै गएर असर देखाउन थाल्छ।
रगतमा क्रिएटिननको मात्रा १ दशमलव २ मिलिग्राम पर डेसिलिटरभन्दा बढी हुनु हुँदैन।
प्रधानमन्त्री ओलीमा यसको मात्रा कति थियो त?
यसको जवाफ अहिलेसम्म ग्रान्डी अस्पताल दिन सकेको छैन। अस्पतालले यो विवरण लुकाइराखेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिननको मात्रा ५ मिलिग्राम पर डेसिलिटर भन्दा बढी थियो। यसका साथै उनको शरीरमा पोटासियमको मात्रा पनि ह्वात्तै बढेको छ। सामान्यअवस्थामा पोटासियम शरीरमा ३ दशमलव ५ देखि ५ दशमलव ५ मिली इक्युभ्यालेन्ट टु लिटर हुन्छ।
प्रधानमन्त्री ओलीको डायलाइसिस गरेको ग्रान्डीले यो विवरण पनि लुकाएको छ। यसैगरी, युरिया, सोडिएमको विवरण पनि सार्वजनिक गरिएको छैन।
सामान्यतया शरीरमा सोडिएम १३५ देखि १४५ मिलि इक्इुभ्यालेन्ट टु लिटर र युरिया ४५ मिलिग्राम पर डेसिलिटर हुन्छ।
रगतमा क्रिएटिननको मात्रा बढेको भरमा डायलाइसिसमा जाने निर्णय नहुने बताउँछन् एक चिकित्सक। उनका अनुसार क्रिएटिनन् सहित अन्य तत्व र शरीर सुन्निएको मात्रा, वाकवाकी, स्वाँस्वाँ लगायतका कुरा समेत हेरिन्छ।
प्रधानमन्त्री ओलीको शरीर सुन्निएको केही दिन अघि सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहजै अनुमान लगाउन सकिन्थ्यो। तर, अस्पतालले पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको शरीर सुन्निएको छ वा छैन, वाकावाकीको अवस्था, स्वाँस्वाँ लगायतका अन्य विवरण पनि गोप्य नै राखेको छ।
सबै विवरण गोप्य राखेको विषयमा अस्पतालका निर्देशक डा पाण्डे भन्छन्, ‘सबै कुरा बाहिर ल्याउनु पनि हुँदैन। केही कुरामा व्यक्तिगत गोपनयिता पनि त हुन्छ।’
सार्वजनिक पदमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य विवरण गोप्य राखेको अस्पतालले बुधबार डायलाइसिस गरेको कुरा पनि गोप्य राखेको थियो।
अस्पतालले दुई दिनमा प्रधानमन्त्रीको दुई पटक डायलाइसिस गरेको भने सार्वजनिक गरेको छ।
डायलाइसिस के हो? किन गर्नुपर्छ?
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा पुनः समस्या आएपछि डायलाइसिस गर्नुपरेको छ। प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा दुई पटक डायलाइसिस गरिएको छ। चिकित्सकहरुले उनको आवश्यक स्वास्थ्य जाँच र परीक्षणपछि थप डायलाइसिसको निर्णय गर्ने बताएका छन्।
सामान्यतया मानिसको शरीरमा सिमीको दाना आकारका दुईवटा मिर्गौला हुन्छन्। मिर्गौला पेटको पछिल्लो भागमा मेरुदण्डको दुवैतिर करङको तल्लो भागमा एक–एक वटा बसेका हुन्छन्।
चिकित्सकहरुका अनुसार मिर्गौलाले रगत छान्ने र अनावश्यक दूषित पदार्थ शरीरबाट बाहिर निकाल्ने काम गर्छ। तर मिर्गौलाले यो काम गर्न नसकेपछि वा मिर्गौला फेल भएको छ भने रगत शुद्धीकरण गर्न डायलाइसिस गर्ने काम गरिन्छ। मिर्गौलाले ८५ देखि ९० प्रतिशत काम गर्न छोडपछि यो विधि प्रयोग गरिन्छ। यो मिर्गौला फेल भएका बिरामीको उपचार नभई जीवन लम्ब्याउने एउटा विधि मात्र हो।
सामान्य अर्थमा भन्नुपर्दा मिर्गौला असफल भएमा बिरामीको रगत शुद्धीकरण गर्ने कृत्रिम विधिलाई ‘डायलाइसिस’ भनिन्छ। डायलाइसिसमा मिर्गौलाले गर्ने काम मेसिनले गर्छ। त्यसैले डायलाइसिसलाई कृत्रिम मिर्गौला पनि भनिन्छ।
डायलाइसिस दुई प्रकारको हुन्छ। मिर्गौला फेल भएका बिरामीको प्रमुख उपचार भनेको प्रत्यारोपण नै हो। डायलाइसिस भने बिरामीको जीवन लम्ब्याउने विधि हो।
१. पेरिटोनियल डायलाइसिस
२. होमो–डायलाइसिस
प्रधानमन्त्री ओलीलाई हेमोडायलाइसिस गरिएको हो।
डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो। बिरामीको शरीरमा दुईथरि नसा जोडेर ‘फिस्टुला’ बनाइन्छ र सुइको माध्यमबाट रगत निकाल्न सजिलो पारिन्छ। शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ, मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ। प्रयोग गर्न सजिलो भएकाले प्रायः यही प्रविधि अपनाइएको देखिन्छ।
डायलाइसिसका क्रममा बिरामीहरु एक पटकमा २ देखि ४ घन्टासम्म बस्नुपर्ने हुन्छ। मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुन सक्छ । विकसित मुलुकमा घरमै यस्तो संयन्त्र जडान गर्न सकिने भए पनि नेपालमा भने अस्पतालहरुमा मात्रै यस्तो सेवा उपलब्ध छ । पेरिटोनियल डायलाइसिसको तुलनामा यो विधिमा संक्रमणको जोखिम कम हुन्छ।
पेरिटोनियल डायलाइसिस भने हेमोडायलाइसिस भन्दा फरक छ। यो गर्ने क्रममा बिरामीको पेटमा पाइप लगाएर स्लाइनपानी हालेर पखालिन्छ। बिरामीको पेटमा पाइप मार्फत एकातिरबाट पानी हालिन्छ, त्यसलाई एक–दुई घन्टा राखिन्छ अनि फोहोर र विकार सोसेको पानी पेटबाट निकालिन्छ। शरीरमा पानी हाल्ने र निकाल्ने नली जोडिएको हुन्छ। यो प्रविधि नेपालमा भर्खरै शुरु भएको छ। होमो–डायलाइसिसको तुलनामा यो प्रविधिको नतिजा राम्रो मानिन्छ। कतिपय विकसित देशमा ‘पिडी–फस्ट’ भन्ने अवधारणा कार्यान्वयनमा ल्याएका छन्।