‘औषधि कम्पनीको कलमले समेत लेख्न दिनुहुन्न सरले,’ कुराकानीका क्रममा एक एमबिबिएस विद्यार्थीले भनेका थिए।
प्रसंग अर्कै थियो तर यो प्रसंगले दिमागको भित्री भागमा कतै ‘हिट’ गरेको थियो। काठमाडौं मेडिकल कलेजमा पढ्ने ती विद्यार्थी (अहिले डाक्टर भइसके) बाट मैले ती सरबारे केही जानकारी लिएँ। ‘डाक्टर औषधि कम्पनीको औषधि बेच्ने एजेन्ट होइनन्। हामीलाई औषधि होइन, बिरामीलाई माया गर्नुपर्छ,’ उनले कक्षाकोठामा दोहो¥याइरहने वाक्यसमेत मलाई सुनाएका थिए।
ती सर हुन्, डा पुष्पराज शर्मा।
बालरोग विशेषज्ञ उनले लामो समय चिकित्सा शास्त्र अध्ययन संस्थानमा अध्यापन गरे। त्यहाँबाट रिटायर्ड भएपछि काठमाडौं मेडिकल कलेजमा छन्। बालरोग विभागको नेतृत्व गरिरहेका उनी सधैं विद्यार्थीका प्रिय प्राध्यापक रहे। बिरामीका हितैषी चिकित्सक भए। तर, कहिल्यै निजी स्वास्थ्य संस्थाका आफ्ना भएनन्। औषधि कम्पनीले कहिल्यै मित्र ठानेनन्। किनभने औषधि कम्पनीको मार्केटिङ रिप्रेजेन्टेटिभ (एमआर) बाट डटपेनसमेत उपहार नलिने व्यक्तिले उनीहरूको औषधि भिडाउने ‘पाप’ गर्ने कुरै भएन।
जानेका ज्ञान वितरणमा उनको सबैभन्दा बढी रुचि छ। मेडिकल कलेजमा चिकित्साका विद्यार्थी मात्रै होइन, सन्तानलाई उपचारका लागि उनीकहाँ ल्याइपुर्याउने अभिभावकलाई पनि उनी शिक्षा दिन्छन्। सन्तानको सानो समस्यालाई पनि डाक्टरले औषधि दिएर च्वाट्ट पारिदेओस् भन्ने चाहना राख्ने अभिभावकका लागि उनी रोजाइका चिकित्सक नहुन सक्छन्। तर, समस्याको सही निदान चाहनेहरुका लागि भने डा शर्मा प्रिय छन्। त्यसैले एउटै परिवारका तीन पुस्ताको बालरोगको उनले उपचार गरिरहेका छन्।
अस्पताल पुगेपछि औषधि नकिनी फर्केको अनुभव धेरैसँग नहुन सक्छ। जो डा शर्माकहाँ पुगेका छन्, तिनीहरू पटकपटक औषधि होइन, सल्लाह मात्रै पाएर फर्केका हुन सक्छन्। किनभने उनी सितिमिति औषधि लेख्दैनन्।
‘६ वर्षमुनिका बच्चाको खोकीको उपयुक्त औषधि त कुनै औषधि नदिनु हो,’ उनले आफ्नो आइप्याडमा डाउनलोड गरेर राखेको अन्तर्राष्ट्रिय गाइडलाइनको बुँदा देखाउँदै भने, ‘कहिलेकाहीँ मकहाँ उपचार गर्न आउने २० जना बच्चाले नै एन्टिबायोटिक नपाउन सक्छन्।’ उनका अनुसार बच्चालाई सामान्य समस्या हुँदासमेत एन्टिबायोटिक लेखिने कि डाक्टरको आत्मविश्वास कम भएर हुन्छ कि रोग पत्ता लगाउन नसकेर। भन्छन्, ‘मेरो डायग्नोस्टिक ठिक छैन कि भन्ने भयले धेरैले एन्टिबायोटिक लेखिहाल्छन्।’
औषधि र अर्ति मिठो नहुने उनलाई जानकारी छ। एक सानो बालकलाई सामान्य समस्यामा औषधि खुवाउँदाको पाश्र्वअसरको वृत्तान्त सुनाए, ‘एउटा बच्चालाई कम्तिमा ९ पल्ट खुवाउने औषधि दिनुपर्छ। सामान्य समस्यामा पनि ९ पल्ट औषधि खानुपर्दा बच्चालाई रोगले भन्दा बढी औषधिले समस्यामा पार्न सक्छ।’
कान्ति अस्पतालमा काम गर्दा एकपल्ट उनले बढी औषधिको असरले सिकिस्त बनेको बिरामीसमेत हेरेका थिए। जो बिरामी हुँदा विभिन्न तीन वटा औषधि पसलमा पुर्याइएको थियो। तीनटै औषधि पसलेले पहिले दिएको औषधिबारे सोधखोज नै नगरी नयाँ औषधि दिएका रहेछन्। अभिभावकले तीनटै औषधि खुवाउँदा त्यसैका असरबाट ती बालक सिकिस्त परेका थिए।
सकेसम्म कम औषधि दिएर बिरामी ठिक पार्ने उनको स्वभाव निजी अस्पतालमैत्री हुने कुरै भएन। त्यसैले उनले आफ्नो जीवनमा कहिल्यै निजी अस्पतालमा काम गरेनन्। एकपल्ट बानेश्वरमा रहेको एउटा औषधि पसलेको क्लिनिकमा काम गरेका थिए। तर, औषधि नलेखेको भन्दै त्यहाँबाट बिदा दिइयो। उनी सम्झिन्छन्, ‘उनीहरूलाई मलाई औषधि नै लेख्नुहुन्न भनेर भनिरहन्थे। भिटामिन त लेख्नु भने, मैले त्यसो गरिनँ। बरु त्यहाँ कामै गर्न छाडेँ।’
त्यसपछि बिहान–बेलुकीको समयमा बिरामी हेर्ने आफ्नै ठाउँ बनाए। त्यहीँ बिरामी हेर्छन्। औषधि कम्पनीको उपहार र उपकारमा कहिल्यै विश्वास गरेनन्। एकपल्ट नेपाल पेड्रियाट्रिक सोसाइटीका अध्यक्ष भए। त्यो बेला उनका साथीहरु भन्थे, ‘औषधि कम्पनीको सहयोग नलिई त संस्थाका गतिविधि गर्न सम्भव छैन।’
उनले आफ्नो कार्यकालभरि औषधि कम्पनीको सहयोग नलिई कार्यक्रम गरेर देखाइदिए।
सकेसम्म अरूलाई अनावश्यक खर्च गराउनुहुन्न भन्ने अडान उनको ‘स्वधर्म’ हो। गीताको श्लोकबाट प्रभावित भएर सकेसम्म सेवा गर्ने दृढ संकल्पमा छन्, उनी। एक त त्यसले गर्दा उनी औषधि कम्पनीसँग नजिक छैनन्। दोस्रो, उनले धेरै वर्षअघि आइओएममा पढाउँदाको एउटा दृश्य सम्झिरहन्छन्।
उनी आइओएमको मुख्य भवनको माथिल्लो झ्यालबाट तल हेरिरहेका थिए। औषधिहरूको प्रचार लेखिएको छाता ओढेका मेडिकल विद्याथी हिँडिरहेका रहेछन्। उनको मन अमिलो भयो। सेतो कोट लगाएका मान्छेले औषधि कम्पनीको छाता ओढेर प्रचार गरेको दृश्यले केही दिनअघि उनी अस्पताल आउँदै गर्दा बाटोमा देखेको दृश्य सम्झायो। एउटा रक्सी कम्पनीको झल्लरी छाता ओढेर केही मान्छे बाटोमा नाच्दै थिए। उनलाई लाग्यो, ‘ती रक्सीको प्रचार गर्ने ‘झल्लरीवाला’ र हामी चिकित्साकर्मीमा के फरक रह्यो र !’
त्यसपछि विद्यार्थीहरूलाई औषधिको कम्पनीले देखाउने लालचबाट टाढै रहन उत्प्रेरित गरिरहे।
लाभ नहुने बाटो हिँड्न सबैले कहाँ रुचाउँछन् र ? उनका धेरै विद्यार्थी उनीजस्तै हुन चुकिरहेका छन्। केहीले भने गुरुवचन आत्मसात गरेका छन्। पैसा नै सबथोक ठान्ने दुनियाँमा ती डाक्टरहरू त्यसै रहलान् भन्नेमा उनको शंका छ। उनी विस्मयका साथ भन्छन्, ‘मेडिकल शिक्षा हासिल गर्न लाखौं खर्च गर्नुपर्ने अवस्था छ। त्यसले पनि विकृति बढ्यो होला।’
विभिन्न अध्ययनले ६ वर्षमुनिका बालबालिकालाई खोकीको औषधि प्रभावकारी नभएको देखाएका छन्। अमेरिकाको मलमा पाइने कफ सिरप र पारासिटामोल यही कारण हटाइसकिए। तर, नेपालमा करोडौं मूल्य बराबरका खोकीको औषधि भित्रिन्छ। डाक्टरले अभिभावकको चिन्तालाई महसुस गर्दै निष्प्रभावी औषधि सिफारिस गर्छन्। अभिभावकले यस्ता विषयमा जानकारी लिइदिए बच्चाले अनावश्यक औषधि खानु पर्दैनथ्यो भन्ने उनको चिन्ता हुन्छ। आफूकहाँ आउने बिरामीका अभिभावकलाई यस्तै ज्ञानगुन दिन उनले आफ्नो आइप्याडमा विभिन्न सामग्री डाउनलोड गरेर राखेका छन्।
उनी चिकित्साका नयाँ खोजमा अद्यावधिक हुने मात्रै होइन, प्रविधिको प्रयोग गरेर समेत बिरामीलाई सेवा प्रदान गरिरहेका छन्। प्रविधिमा आफूलाई अभ्यस्त बनाएकै कारण बिरामीहरू उनलाई इमेलमा समेत जिज्ञासा पठाउँछन्। उनी इमेलमै सल्लाह र सुझाव दिन्छन्।
उमेरले ७१ वर्ष उक्लिरहेका उनले आफ्नो जवान उमेरको दैनिकीलाई नै पछ्याइरहेका छन्। उनलाई लाग्छ, ‘आफूले सकेसम्म अनुभव र ज्ञान बाँड्न छाड्नुहुन्न।’
डा शर्मा सन् २००५ सालमा पाल्पा तानसेनको धार्मिक परिवारमा जन्मेका हुन्। धर्मको प्रभावले परोपकारी हुन उत्प्रेरणा मिलेको उनले महसुस गरेका छन्।
जनता मावि पाल्पामा एसएसली पास गरेका उनले बनारसमा धार्मिक कर्ममा रहेकी हजुरआमासँग आइएसी गरे। आइएससीपछि उनी काठमाडौं आइपुगे। तत्कालीन श्री ५ को सरकारले हरेक अञ्चलबाट दुई विद्यार्थी चिकित्सा शास्त्र अध्ययनका लागि छनोट गथ्र्यो। उनी लुम्बिनी अञ्चलबाट चिकित्सा अध्ययनका लागि छानिए। एसियाकै पुरानो मानिने कलकत्ता मेडिकल कलेजबाट सन् १९७२ मा एमबिबिएस गरेका हुन्।
पढेर आएपछि जागिर पाउन उनलाई कम्ता सकस भएन। तत्कालीन स्वास्थ्य सेवा विभागले उनलाई वीर अस्पतालमा ‘अनेररी’ गर्न अनुमति दियो। अनेररी त्यस्तो अवस्था थियो, जागिर त हुन्थ्यो तर तलब नपाइने। उनलाई त्यो बेला लागेको थियो, ‘जागिर पाइने तर तलब नपाइने कस्तो जागिर गरिएछ !’ तीन महिना तलबविहीन काम गरे।
त्यसपछि स्वास्थ्य सेवा विभागले मेडिकल अफिसर माग्यो। उनले पनि त्यसका लागि निवेदन दिए। त्यो बेला पब्लिक हेल्थतर्फ जाने कि क्लिनिकल छान्ने भन्ने रोजाइ हुन्थ्यो। उनको रुचि क्लिनिकल थियो। उनका साथीको रोजाइ पब्लिक हेल्थ। तर, छनोट गरेर दरबन्दी सिर्जना गर्दा उल्टो भयो। उनी पब्लिक हेल्थको प्रोजेक्टतर्फ परे। जुन उनको रुचि थिएन। जागिर त गरिरहे तर अर्को ड्युटी पनि सुरु गरे। दिनको एक घन्टा विभागको निर्देशकका अघि बसिरहनुपर्ने। उनी त्यसरी धाउनुको कारण थियो, क्लिनिकतर्फ नै खटाइमाग्नु। धेरै दिन यही कर्म दोहोर्याएपछि हत्तु भएर एकदिन निर्देशकले अफर गरे, ‘तेह्रथुम जिल्ला अस्पताल जाने हो त ?’
अहिलेको जस्तो सडक सञ्जाल नफैलिएको त्यो समयमा तेह्रथुम पुग्न सजिलो थिएन। तत्कालीन राजा महेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जाने भएपछि विभागलाई त्यहाँको अस्पतालमा चिकित्सक पठाउनैपर्ने भएपछि उनलाई अफर गरिएको थियो। पब्लिक हेल्थ उनको रुचिको विषय नभएकाले ताप्लेजुङ जान तयार भए। प्लेनबाट विराटनगर गएपछि थप चार दिन हिँड्नुपर्ने बाटो थियो। जीवनमा त्यस्तो दुर्गम कहिल्यै नपुगेका उनी पहिलोपल्ट जाँदा आत्तिएको अहिले पनि सम्झिन्छन्। जीवनसंगिनी आशा शर्माका साथ गएका उनलाई त्यो दुःखले जागिर छाडिदिउँ जस्तो नलागेको होइन तर त्यस्तो निर्णय गर्न आँट पनि आएन।
तेह्रथुमको म्याङलुङ बजार उनी रातितिर पुगेका थिए। उनको अनुमान थियो, अस्पताल कम से कम पक्की भवनमा होला। क्वार्टर पनि ठिकठाकै होला। बजारमा एउटा पसल मात्रै खुला थियो। त्यहाँका मान्छेलाई सोधेपछि केही पर भएको खरले छाएको घर देखाउँदै भने, ‘त्यही हो अस्पताल। त्यहाँका मुख्यासा’ब बोलाइदिन्छु, ढोका खोल्दिन्छन्।’
बिरानो ठाउँको चार दिन हिँडाइले ज्यान लखतरान थियो, अस्पतालको रूपरङ हेर्दा उनको मनसमेत ओइलायो। उनलाई त्यहाँ टिकेर बसिएला भन्ने लाग्दै लागेन। तर, मन न हो बिस्तारै रत्तिदै गयो। तेह्रथुमवासीको मायाले कस्दै लग्यो। मिजासिला स्वभावका डा शर्माको सेवाभाव फैलँदै गयो। तीन वर्ष बितेको डा शर्माले पत्तै पाएनन्। तीन वर्षपछि उनी बच्चाका बाबु बन्ने भए। तर, त्यही अस्पतालमा सुत्केरी गराउन उनलाई सहज लागेन। अयोध्यामा धर्मकर्म गरिरहेका उनका सासू–ससुराकहाँ जीवनसंगिनीलाई छाडेर काठमाडौं आए। लामो समय त्यहाँ सेवा दिइसकेकाले सरुवाका लागि निवेदनसमेत दिएका थिए। स्वीकृत भएछ। उनी वीर अस्पतालको सर्जिकल युनिटमा खटिन थाले।
त्यहीबेला चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) खुल्ने तयारी चल्यो। पठनपाठनमा उनको रुचि थियो। त्यसका डिन डा मोइन शाहले उनलाई त्यहाँ आउन आग्रह गरे। उनले नाइँनास्ती गरेनन्। किनभने एउटा पढाउन पाउने अवसर थियो भने अर्काे पाँच वर्षको उपदान पाइने व्यवस्था थियो। मेडिकल अफिसरका रूपमा आइओएममा भर्ती हुने सुरुका चार मेडिकल अफिसरमध्ये डा शर्मा पनि एक हुन्।
केही समय काम गरेपछि बाल स्वास्थ्य विषयमा अध्ययन गर्न उनी आयरल्यान्ड पुगे। लगत्तै ट्रपिकल चाइल्ड हेल्थमा बेलायतको लिभरपुल युनिभर्सिटीबाट डिप्लोमा गरे। अध्ययनपपछि त्यहीँ जागिर गर्ने अवसर थियो। उनीभन्दा सिनियरले त्यहीँ बस्न अनुरोध गरेका थिए। तर छालाका आधारमा दुव्र्यवहार गर्ने बेलायतीहरुको झुन्ड नै थियो। उनीहरू आप्रवासी भनेपछि देखिसहन्नथे। उनका अनुसार त्यसमा पनि एसियन भनेपछि पाकिस्तानी जस्तै ठानेर ‘पाकि-पाकि’ भन्दै दुव्र्यवहार गरिहाल्थे। उनले केहीपल्ट यो भोेगे पनि। उपचारका लागि आउँदासमेत एसियन डाक्टर रहेछ भने अर्कोमा जानेसम्म गर्थे। उनलाई यस्तो माहोलमा बस्न मनले मान्दै मानेन। पढाइ सकिएलगत्तै फर्केर आइओएममै आए।
त्यसबेला विराटनगरमा आइओएमले अहेब क्याम्पस खोल्ने कुरा चलिरहेको थियो। पढाउन त उनलाई मन थियो तर उपत्यकाबाहिर गइहाल्ने अवस्था थिएन। पछि पोखरामा अहेब क्याम्पस खोल्दा भने उनैले नेतृत्व गर्नुपर्यो। एक वर्ष बसेर क्याम्पस सञ्चालन गरेपछि काठमाडौं फर्किए। लेक्चररबाट सुरु भएको आइओएमको जागिरबाट ६३ वर्षको उमेरमा रिटायर्ड हुँदा उनी बालरोग विभाग प्रमुख थिए।
हालसम्म उनले तीन किताब लेखिसकेका छन्। आठ वटा रिसर्च आर्टिकल अन्तर्राष्ट्रिय जर्नलमा छापिएका छन् भने राष्ट्रिय जर्नलमा ३४ वटा प्रकाशित छन्। चिकित्सा शास्त्रका लागि कोर्स डिजाइनमा उनको सहभागिता छ। विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा सल्लाहकारका रूपमा उनले आफ्नो ज्ञानसिप बाँडेका छन्। बालरोगमा बुवाले गरेको योगदानबाट उनका दुवै सुपुत्र डा पराग र पल्लब भट्टराई प्रभावित छन्। त्यसैले उनीहरूले बुवाकै बाटो पछ्याएर बालरोग विशेषज्ञ बनेका छन्।
चिकित्सा जीवनको उत्तराद्र्धमा आफ्नो कर्मलाई आफैंले मूल्यांकन गर्दा उनी निर्धक्क सन्तोषको सास फेर्छन्। किनभने जीवनमा आएका उतारचढाव दुःख गरेरै झेले। तर, इमानमा सधैं अडिग रहे। नैतिकतालाई आफ्नो पेसाको पहिलो हतियार बनाए। लालचभन्दा माथि राखे। औषधिलाई होइन, बिरामीलाई प्रेम गरे। त्यसैले जो उनलाई चिन्छन्, उनीहरू डा शर्माबाट प्रभावित छन्।