मंसिर २४ गते मंगलबार। विजयकुमार इसरले आफ्ना १० वर्षका छोरा सिद्धान्तलाई स्कुलबाट घर लैजाँदै थिए। त्यतिबेला सिद्धान्तले बाबुलाई आफ्नो घाँटी दुखेको बताए।
छोराको सधैं उज्यालो देखिने अनुहार त्यो दिन मलिन थियो। तुरुन्तै विजयले सिद्धान्तलाई नजिकैको क्लिनिकमा लगेर ‘चेकअप’ गराए।
डाक्टरले सामान्य एन्टिबायोटिक औषधि र नदुखाउने ट्याबलेट (पेन किलर) दिए। तर, ट्याबलेट खानेबित्तिकै सिद्धान्तलाई वान्ता हुन थाल्यो।
औषधिले साइड इफेक्ट गरेको भन्दै विजय पुनः क्लिनिकमा गए। त्यसपछि उनलाई झोलवाला एन्टिबायोटिक दिइयो। त्यसले पनि निको भएन। सिद्धान्तको स्वास्थ्य प्रतिकूल बन्दै गइरहेको थियो।
वान्ता हुन पनि छोडेन। वान्ता रोक्नका लागि डाक्टरले फेरि अर्को औषधि चलाए। ४/५ घन्टापछि वान्ता रोकियो।
प्रतिदिन सिद्धान्तलाई खाना रुच्न छाड्यो। झोल र पानीमात्र खान थाले। २४ घन्टासम्म सुतिमात्र रहने अवस्थामा पुगे सिद्धान्त।
विजयले बाबु भनेर बोलाए मात्र पनि छोराले अप्ठ्यारो मान्न थाले। उनी उठ्नै नसक्ने अवस्थामा पुगिसकेका थिए।
‘यो डोज कम्प्लिट गरौं। त्यसपछि ब्लड चेक गराउँला,’ क्लिनिकका डाक्टरले विजयलाई भनेका थिए। तर, डोज सकिनुभन्दा अघि नै सिद्धान्तको अवस्था झन् गम्भीर बन्दै गयो।
छोराको स्वास्थ्य अवस्थाबारे चिन्तित भइरहेका विजयले २६ गते आफ्नो बुबासँग कुरा गरे। ‘कमजोरीले होला। केही दिनमा टन्सिल ठिक भइहाल्छ। आत्तिनु पर्दैन,’ बुबाले आश्वासन दिँदै भनेका थिए।
सिद्धान्तलाई दिसा पनि ४/५ दिनसम्म आएन। रोग के हो? पत्ता लागेको थिएन।
एक दिन राति सिद्धान्तले निद्रामा अनौठो कुरा गर्न थाले, ‘मलाई जुस भन्नु भएको थियो नि। तुरुन्त ल्याइदिनुस्। म हजुरबासँग कुरा गर्छु।’
त्यो दिन रातिभर बाबु विजय र सिद्धान्तकी आमा सुत्न सकेनन्।
सिद्धान्त तनक्क खुट्टा तन्काइरहन्थे। पिसाब गर्ने बेलामा उठ्न खोज्थे तर उठ्न सक्दैनथे। आँखा चिम्म मात्र गरिरहन्थे।
२ गते, बुधबार बिहान ५ नबज्दै विजयले छोरालाई पाटन अस्पताल लगे।
अस्पताल नपुग्दासम्म सिद्धान्त बोलिरहेका थिए। बाइकबाट ओरालेर कुर्सीमा बसाउँदासम्म अवस्था ठिकै थियो।
तर, अस्पतालभित्र छिर्ने बित्तिकै छोरा बेहोस भएपछि विजय आत्तिए। अस्पतालमा डाक्टरहरूले सिद्धान्तको अवस्था जाँचे।
‘सुगर एकदम हाइ रहेछ। तपाईं छिटो भन्दा छिटो कतै आइसियु खोज्नुस्,’ डाक्टरले गम्भीर हुँदै विजयलाई भने। आइसियुमा राख्नुपर्छ भन्ने डाक्टरको सुझाव थियो।
‘छिटो लगिहाल्नुस्, छिटो लगिहाल्नुस्,’ डाक्टरहरूले भनिरहेका थिए।
कहाँ लगेर गर्ने, कसरी लाने? विजय अलमलमा परे। उसो त डाक्टरका अनुसार समय कम थियो।
अस्पतालमा पीडा बुझ्नेहरू कोही थिएनन्। न डाक्टर, न कुनै कर्मचारी नै।
एक डाक्टरले विजयको हातमा आइसियु भएको अस्पतालको लिस्ट थमाइदिए।
विजयले सुरुमा ग्वार्कोस्थित एक निजी अस्पतालमा फोन गरे। उठेन। त्यसपछि बालमैत्री अस्पतालमा डायल गरे। त्यहाँ आइसियु खाली रहेछ।
तुरुन्तै एम्बुलेन्सबाट छोरालाई बालमैत्री अस्पताल त पुर्याए। तर, त्यहाँका डाक्टरहरूले छोराको उपचार गर्नु पहिले नै भन्न थाले, ‘बच्चा बाँच्छ कि बाँच्दैन। त्यो जिम्मा लिँदैनौं हामी। तपाईंहरूलाई लाग्छ भने अन्त कतै लानुस्। हामी जसरी उपचार गरिरहेका छौं। त्यो उपचार जहाँ पनि यस्तै हो।’
विजय असिनपसिन भए। डाक्टरको त्यो शूलजस्तै घोच्ने जवाफले उनी भित्रभित्रै थलिए। ‘त्यसरी त नभन्नुस् न तपाईंहरू। प्रयास गर्नुस् न प्लिज,’ विजयले आँखाभरि आँसु पार्दै डाक्टरसँग याचना मागे।
‘प्रयास त गरिरहेका छौं। तर, बाँच्छ कि बाँच्दैन!,’ डाक्टरका यी कुरा विजयलाई बज्र बज्रिएको भान भएको थियो।
सिद्धान्तलाई भेन्टिलेटरमा राखियो।
‘मलाई हस्पिटलबारे त्यति ज्ञान थिएन। समय हेर्दै २/३ घन्टामा उहाँहरूले बोलाउनुहुन्थ्यो,’ विजयले भने।
हरेक पल्टको भेटमा डाक्टरले भन्ने गर्थे, ‘छोराको सम्भावना कम छ। अब हाम्रो हातमा छैन।’
निराशाको बादलले विजयको अनुहारलाई ढाक्न थाल्यो। जति पटक छोरालाई हेर्न पुग्थे, उति पटक विक्षिप्त हुन्थे। अस्पतालमा डाक्टरहरूको बेवास्ताले झन् थिचेको थियो विजयलाई।
विजयका भाइ इन्जिनियर हुन्। उनी पनि दाजुसँग आएका थिए। चिन्तित मुद्रामा उनले एउटा उपाय सोचे, ‘दाइ नर्भिक अस्पताल लैजाऔं। त्यहाँ बाबुको उपचार सम्भावना छ।’
विजयलाई आशाको त्यान्द्रो भए पनि चाहिएको थियो। ‘त्यसो भए तुरुन्तै लैजाऔं,’ विजयले भाइलाई भने।
त्यसपछि भाइले आफ्नो अफिस केज कन्सल्टेन्टका सिइओ विष्णु पन्थीलाई फोन गरे। उनको नर्भिकको सिइओसँग राम्रो सम्बन्ध थियो। उनै पन्थीमार्फत सिद्धान्तको उपचारको लागि नर्भिकमा लैजाने व्यवस्था भाइले मिलाउन थाले।
नर्भिक अस्पतालमा फोन गरेर बुझ्न थाले।
०००
नर्भिकका एक डाक्टरलाई त्यही दिन राति ८ बजेतिर फोन आयो, ‘एउटा बच्चा एकदम सरिरियस छ। बाँच्ने सम्भावना निकै कम छ। नर्भिक ल्याउने कि!’
डाक्टरले जवाफ दिए, ‘बाँच्ने सम्भावना नै एकदमै कम छ भने त गाह्रो हुन्छ। बीचमा केही भयो भने जोखिम हुन्छ। नल्याउँ सर।’
त्यसपछि ती डाक्टरले अस्पतालकै बालरोग विशेषज्ञ डा विवेक तोदीसँग उक्त विषयमा जानकारी गराए। ‘ग्यारेन्टी लिन सकिन्नँ,’ डा विवेकले भने।
अस्पतालका डेप्युटी डाइरेक्टरलाई नर्भिकका सिइओ राजेन्द्रबहादुर सिंहले फोन गरे, ‘एउटा गम्भीर अवस्थामा पुगेको बच्चा छ। उसको बाँच्ने अवस्था एकदम कम छ। अभिभावकको अन्तिम इच्छा नै नर्भिक लैजाने छ रे भन्ने कुरा आएको छ। प्रयास गर्ने कि!’
डेप्युटी डाइरेक्टरले सिंहलाई भने, ‘अन्तिम इच्छा भनेपछि त आँट्नुप¥यो। मैले एक्लै आँटेर त भएन। टिम चाहिन्छ। सक्दो प्रयास गर्छु।’
बच्चाको स्वास्थ्य अवस्था बुझिसकेपछि थाहा भयो, ‘उसको सुगर हाइ रहेछ। करिब ९ सय नै पुगेको रहेछ।’
डेपुटी डाइरेक्टरले मधुमेह रोग विशेषज्ञ डा डिना श्रेष्ठसँग कुरा गरे, ‘अभिभावकहरूले अन्तिम इच्छा भनेका छन् डाक्टर डिना। लिएर आउँ। बरु मेरो निगरानीमा राखौंला।’
त्यसपछि डा डिनाले भनिन्, ‘ल ल्याउन भन्नुस् न त। गरौंला प्रयास।
त्यसपछि अभिभावकले जोखिम मोलेरै बच्चालाई नर्भिक ल्याए।
०००
विजयलाई ठ्याक्कै अनुमान छैन, करिब ११ बजेको हुँदो हो। नर्भिकमा छोरालाई ल्याइएको थियो, भेन्टिलेटरको साथमा। अर्थात्, कृत्रिम श्वास दिने काम सुरु भइसकेको थियो।
बडो कस्टका साथ नर्भिक ल्याइएको छोरामा सबैको आश मरिसकेको थियो। करिब अस्पतालको पनि।
‘डाक्टरहरू पनि ढुक्क थिएनन्,’ विजयले सम्झँदै भने।
जब गेटबाट छोरालाई भित्र लगियो। विजयलाई लाग्यो– मेरो प्राण मेरै अघिबाट गइरहेको छ।
‘सर हामी ज्यानको बाजी लगाएर पनि बचाउने कोसिस गर्छौं,’ डाक्टरहरूको यो आश्वासन कानमा ठोक्किइरहेको थियो विजयको।
‘यस्तो क्रिटिकल छ। तपाईंहरूलाई थाहै छ। बाबुको भाग्य के छ? हामी पनि भित्र जाँदैछौं। तपाईं पनि बाहिर बसेर प्रार्थना गर्नुस्,’ करिब पौने १२ बजे डाक्टर यति भनेर भित्र गए।
अस्पताल बाहिर छट्पटिँदै घन्टौं बिताए विजयले, बाहिर ढाडस दिने भाइको भरमा।
०००
भित्र भेन्टिलेटरमा क्रिटिकल केयरमा कार्यरत टिमका डाक्टरहरू थिए। डा जेन्टलसुन्दर श्रेष्ठ, डा डिना र डा विवेक।
बिहान ५ बजे विजयलाई खबर आयो, ‘बाबुको स्वास्थ्यमा सुधार आएको छ।’
विजय र सिद्धान्तका काकाको मुहारमा खुसीको सीमा थिएन।
७ बजेपछि छोरालाई भेट्न गए विजय। छोरालाई हेरे। उनको आँखा खुसीले भरियो।
‘बाबु होसमा थियो। चल्मलाउन सक्थ्यो। म ठिक छु भनेर उसले हातले इसारा गर्यो,’ खुसीको आँसु निकाल्दै विजयले भने।
अस्पताल ल्याउँदा ९ सयको सुगर बिहान ५ सय तल झरिसकेको थियो।
‘मैले डाक्टरहरूको खुट्टा ढोगेँ। जसले मेरो छोरालाई पुनर्जन्म दिए,’ विजयले भने, ‘उपचार सफल भएपछि डिना म्यामले चकलेट बाँड्नु भएछ,।’ ४८ घन्टा पछाडि सिद्धान्तलाई वार्डमा सारियो।
०००
नर्भिक अस्पतालले दिएको जानकारी अनुसार सिद्धान्तलाई सुगरको मात्रा अत्यधिक उच्च हुने समस्या डाइबेटिक केटोएसिडोसिस (डिकेए) भएको हो। जसका कारण अचानक सुगर लेभल बढेर शरीरमा केमिकल रियाक्सन गराउँछ। यस्तो सुगर बढेर ९ सय पुगेको अवस्था भनेको अत्यतै क्रिटिकल अवस्था भएको डाक्टरहरु बताउँछन्। उमेरको हिसाबमा पनि १० वर्षका बालकको सुगर यो मात्रामा बढ्नु भनेको तत्काल बाँच्ने सम्भावना एकदम न्यून हुनु हो।
०००
सिद्धान्त गत शुक्रबार डिस्चार्ज भइसकेका छन्। अहिले घरमै उनको हेरचाह भइरहेको छ। कुराकानी सजिलै गर्न सक्छन्। खुलेर हाँस्न सक्छन्। उनलाई हेरचाह गरिरहेका विजय र सिद्धान्तकी आमा खुसी छन्।
‘हातबाट फुत्किसकेको मेरो बाबु फर्केर आयो। यो भन्दा खुसीको कुरा मेरो लागि के छ अरु,’ विजय खुसी हुँदै भन्छन्, ‘मेरो बाबुले पुनर्जन्म पायो।’